Skip to content
Opens in a new window
Listen to this chapter • 4:05

[1] हे पत्नीहरू हो, यसरी नै तिमीहरू आफ्ना पतिहरूका अधीनमा बस, र यदि तिनीहरूमध्ये कसैले वचनमाथि विश्‍वास गर्दैन भने तापनि तिनीहरूका पत्नीहरूको आचरणले गर्दा वचनविना नै,

[2] तिमीहरूको जीवनको शुद्धता र आदर देखेर तिनीहरूलाई जितियोस्।

[3] तिमीहरूको सौन्दर्य केशका सिँगार, सुनका गहना तथा महङ्गा कपडाहरूजस्ता बाहिरी सिँगारले नहोस्।

[4] तर तिमीहरूको भित्री व्यक्तित्वमा नम्र र शान्त आत्माको अविनाशी सौन्दर्य होस्, जो परमेश्‍वरको दृष्‍टिमा अति मूल्यवान् छ।

[5] किनकि परमेश्‍वरमाथि आशा राख्ने प्राचीन कालका पवित्र महिलाहरूले यसै गरी आफूलाई सुन्दर बनाउँथे। तिनीहरू आफ्ना पतिहरूका अधीनमा रहन्थे;

[6] साराजस्तै, जसले अब्राहामको आज्ञापालन गर्थिन् र तिनलाई आफ्नो “मालिक” भन्थिन्। यदि तिमीहरू असल काम गर्छौ र डराउँदैनौ भने तिमीहरू यिनैका छोरीहरू हौ।

[7] त्यसै गरी हे पतिहरू हो, आफ्ना पत्नीहरूलाई कमजोर पात्र र तिमीसँगै जीवनका अनुग्रहका साझा उत्तराधिकारी सम्झी उनीहरूलाई आदर गर्दै बुद्धिमानीसाथ उनीहरूसँग बस, र तिमीहरूको प्रार्थना नरोकियोस्।

[8] अन्त्यमा तिमीहरू सबै एकै मनका होओ, सहानुभूति देखाओ, आपसमा प्रेम गर, टिठालु र नम्र होओ।

[9] दुष्‍टताको सट्टा दुष्‍टता नगर, अथवा अपमानको सट्टा अपमान, तर आशीर्वाद देओ; किनकि आशिष्‌को हकदार हुनलाई तिमीहरू यसैको निम्ति बोलाइएका हौ।

[10] किनकि पवित्र धर्मशास्त्रमा लेखिएको छ: “जसले जीवनलाई प्रेम गर्न र असल दिन देख्न चाहन्छ, तिनले आफ्ना जिब्रोलाई खराबीबाट र आफ्ना ओठहरूलाई छलका बोलीबाट बचाउनुपर्दछ।

[11] तिनले दुष्‍टताबाट फर्केर भलाइ गर्नुपर्दछ, तिनले शान्ति खोजी गर्नुपर्दछ, र त्यसलाई पछ्याउनुपर्दछ।

[12] किनकि प्रभुका नजर धर्मीहरूमाथि रहन्छ; र उहाँका कान तिनीहरूका प्रार्थना सुन्‍नलाई खुल्‍ला हुन्छन्, तर परमप्रभुको मुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ।”

[13] त्यसैले तिमीहरू असल गर्न उत्सुक हुन्छौ भने कसले तिमीहरूलाई हानि गर्छ र?

[14] तर उचित कुराको लागि तिमीहरूले दुःख भोग्नुपर्ने भए तापनि तिमीहरू धन्यका हौ। “तिनीहरूका धम्कीदेखि नडराओ, न त भयभीत होओ!”

[15] तर तिमीहरूका हृदयमा ख्रीष्‍टलाई प्रभु मानेर उहाँलाई श्रद्धा गर। तिमीहरूसँग भएका आशाको कारण सोध्ने हरेकलाई उत्तर दिन सधैँ तयार रहो, तर यो नम्रता र इज्जतसाथ गर।

[16] तिमीहरूमा सफा विवेक कायम राख; यसरी ख्रीष्‍टमा तिमीहरूका असल व्यवहारको विरुद्ध द्वेषपूर्ण रूपले बोल्नेहरू आफूले गरेको निन्दाबाट लजाऊन्।

[17] परमेश्‍वरको इच्छा यस्तै छ भने खराबी गरेर दुःख भोग्नुभन्दा असल गरेर दुःख भोग्नु असल हो।

[18] किनकि अधर्मीहरूलाई परमेश्‍वरकहाँ ल्याउन ख्रीष्‍ट, जो धर्मी हुनुहुन्छ, उहाँले हाम्रा पापका निम्ति दुःख भोग्नुभयो; उहाँ शरीरमा मारिनुभयो, तर आत्मामा जीवित पारिनुभयो।

[19] उहाँ आत्मामा जानुभयो, र कैदमा भएका आत्माहरूलाई प्रचार गर्नुभयो,

[20] जसले प्राचीन समयमा आज्ञा उल्‍लङ्घन गरेका थिए, जुन बेला नोआको समयमा जहाज बनिँदै गर्दा परमेश्‍वरले धैर्यसाथ पर्खनुभएको थियो। जुन जहाजमा केही मानिसहरू अर्थात् जम्मा आठ जना मानिसहरू पानीबाट बाँचेका थिए;

[21] अनि यो पानीले बप्‍तिस्मालाई सङ्केत गर्दछ, जसले तिमीहरूलाई पनि अहिले बचाएको छ; यसले शरीरबाट मैलो निकाल्ने होइन, तर यो परमेश्‍वरप्रतिको स्पष्‍ट विवेकको प्रतिज्ञा हो। यसले तिमीहरूलाई येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा बचाउँदछ;

[22] ख्रीष्‍ट, जो स्वर्गमा जानुभएको छ, र परमेश्‍वरको दाहिने हाततिर बस्‍नुभएको छ। स्वर्गदूतहरू, अधिकारहरू तथा शक्तिहरू उहाँकै अधीनमा राखिएका छन्।

1 पत्रुस — Chapters