Skip to content
Opens in a new window
Listen to this chapter • 4:43

[1] त्यसकारण सबै घृणा, सबै छल, कपट, डाह र सबै किसिमका निन्दादेखि आफूहरूलाई अलग राख।

[2] परमेश्‍वर असल हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ;

[3] त्यसैकारणले नयाँ जन्मेका बालकझैँ शुद्ध आत्मिकी दूधको तिर्सना गर; यसरी तिमीहरू आफ्नो मुक्तिमा बढ्दै जाओ।

[4] जब तिमीहरू मानिसहरूले त्यागेका, तर परमेश्‍वरले छान्‍नुभएको तथा उहाँको निम्ति बहुमूल्य जीवित पत्थरकहाँ आउँदछौ;

[5] तब तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको दृष्‍टिमा ग्रहणयोग्य आत्मिक बलिदान चढाउँदै पवित्र पुजारीगिरीको निम्ति जीवित पत्थरहरूझैँ आत्मिकी घर बन्दैजाओ।

[6] किनकि पवित्र धर्मशास्त्रमा यो लेखिएको छ: “हेर, सियोनमा म पत्थर राख्दैछु, चुनिएको र बहुमूल्य मुख्य ढुङ्गो, र उहाँमाथि जसले विश्‍वास गर्छ, त्यो कहिल्यै शर्ममा पर्नेछैन।”

[7] यसर्थ तिमी विश्‍वास गर्नेका लागि यो पत्थर बहुमूल्य छ; तर विश्‍वास नगर्नेहरूका लागि, “जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही मुख्य ढुङ्गा बन्यो।”

[8] र, “यस्तो ढुङ्गो, जसले मानिसहरूलाई ठेस खान लगाउँछ; अनि यस्तो चट्टान, जसले तिनीहरूलाई लडाउँछ।” तिनीहरू लड्छन्; किनकि उनीहरू सन्देशको उल्‍लङ्घन गर्छन्, यसैको निम्ति नै उनीहरू नियुक्त भएका थिए।

[9] तर तिमीहरू चुनिएका मानिसहरू हौ, राजकीय पुजारीगिरी, पवित्र जाति, परमेश्‍वरको विशेष सम्पत्ति हौ ताकि तिमीहरूले तिमीहरूलाई अन्धकारबाट आफ्नो अद्‌भुत ज्योतिमा बोलाउनुहुनेको प्रशंसाको घोषणा गर्न सक।

[10] एक समय तिमीहरू परमेश्‍वरका मानिस थिएनौ, तर अब तिमीहरू परमेश्‍वरका मानिस भएका छौ; एक समय तिमीहरूले दया पाएका थिएनौ, तर अब तिमीहरूले दया पाएका छौ।

[11] हे प्रिय मित्रहरू हो, तिमीहरू संसारमा विदेशी र प्रवासीझैँ छौ। म निवेदन गर्दछु, कि तिमीहरूका पापमय इच्छादेखि अलग बस, जसले तिमीहरूको प्राणका विरुद्ध लडाइँ गर्छ।

[12] गैरयहूदीहरूको बीचमा यस्तो असल जीवन बिताओ, कि उनीहरूले तिमीहरूलाई गलत काम गरेको आरोप लगाए तापनि तिमीहरूका सुकर्म देखून्, र प्रभु हामीकहाँ आउनुहुने दिनमा परमेश्‍वरको महिमा गरून्।

[13] प्रभुको निम्ति तिमीहरू आफूलाई सबै मानवीय स्थापित अख्तियारको अधीनमा राख; चाहे सर्वोच्‍च अधिकारको रूपमा राजा हुन्,

[14] अथवा राज्यपालहरू, जसलाई राजाले खराब काम गर्नेहरूलाई दण्ड दिन र ठिक काम गर्नेहरूलाई इज्जत दिन चुनेका हुन्छन्।

[15] किनकि परमेश्‍वरको इच्छा यही हो, कि तिमीहरूले असल काम गरेर मूर्ख मानिसहरूको अज्ञानताका कुरालाई चुप गराउनुपर्दछ।

[16] तिमीहरू स्वतन्त्र मानिसहरू भए तापनि तिमीहरू परमेश्‍वरका सेवकहरू हौ। त्यसैकारणले आफ्नो स्वतन्त्रतालाई दुष्‍टता छोप्ने आवरणको रूपमा प्रयोग नगर।

[17] सबैलाई उचित आदर देखाओ। विश्‍वासीहरूको समूहलाई प्रेम गर; परमेश्‍वरसँग डराओ, राजालाई आदर गर।

[18] हे दासहरू हो, पूर्ण आदरसाथ आफ्ना मालिकहरूको अधीनमा बस; असल र समझदार मालिकहरूको मात्र होइन, तर कठोर मालिकहरूको पनि अधीनमा बस।

[19] परमेश्‍वरको निम्ति कुनै मानिसले अन्यायपूर्ण कष्‍ट सहन्छ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुन्छ;

[20] तर गल्ती काम गरेको कारण पिटाइ खान्छौ र सहन्छौ भने यसमा के फाइदा भयो र? तर यदि तिमीले असल काम गरेको कारण कष्‍ट पायौ र सहन्छौ भने यो परमेश्‍वरको अगि प्रशंसनीय छ।

[21] यसैको निम्ति तिमीहरू बोलाइएका छौ; किनकि ख्रीष्‍टले तिमीहरूको निम्ति कष्‍ट सहनुभयो, र तिमीहरूको निम्ति एउटा नमुना छोड्नुभयो, र तिमीहरूले उहाँको पाइला पछ्याउनुपर्छ।

[22] “उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन।”

[23] तिनीहरूले उहाँमाथि अपमान गर्दा, उहाँले बदला लिनुभएन। उहाँले दुःख भोग्नुहुँदा, धम्काउनुभएन। यसको सट्टामा उचित न्याय गर्नुहुने परमेश्‍वरकहाँ आफूलाई सुम्पनुभयो।

[24] यसरी हामी पापको निम्ति मरौँ र धार्मिकताको निम्ति जिऔँ भनेर “उहाँले क्रूसमा आफ्नै शरीरमा हाम्रा पाप बोक्नुभयो;” अनि “उहाँको चोटद्वारा तिमीहरू निको भयौ।”

[25] किनकि “तिमीहरू बरालिएका भेडाजस्तै थियौ,” तर अब तिमीहरू आफ्ना प्राणका गोठालो र संरक्षक ख्रीष्‍टकहाँ फर्केका छौ।

1 पत्रुस — Chapters