Skip to content
Opens in a new window
Listen to this chapter • 3:16

[1] शासकहरू तथा अख्तियारवालाहरूको अधीनतामा बस्‍नू, आज्ञाकारी हुनू, जे असल छ, सो गर्नू भनी तिनीहरूलाई सम्झना गराउनू।

[2] तिनीहरूले कसैको बदनामी नगरून्, मिलापमा रहून्, विचारशील होऊन् र सधैं सबै मानिसहरूप्रति नम्रता देखाऊन्।

[3] कुनै समय हामी पनि मूर्ख, अनाज्ञाकारी, अनि सबै किसिमका अभिलाषा र सुख विलासद्वारा ठगिएका र सेवक बनाइएकाहरू थियौं। हामी द्वेष र डाहामा जिउने, घृणा गरिएका र एक-अर्कालाई घृणा गर्नेहरू थियौं।

[4] तर जब हाम्रा मुक्‍तिदाता परमेश्‍वरको दया र प्रेम देखा पर्‍यो,

[5] उहाँले आफ्ना कृपाको कारण हामीलाई बचाउनुभयो। हामीले गरेका धार्मिक कामहरूको कारणले होइन। उहाँले हामीलाई पुनर्जीवनको स्‍नान अनि पवित्र आत्माको नवीकरणद्वारा बचाउनुभयो,

[6] जुन आत्मालाई उहाँले हाम्रा मुक्‍तिदाता येशू ख्रीष्‍टद्वारा हामीमा प्रशस्त गरी खन्याउनुभयो।

[7] उहाँको अनुग्रहद्वारा हामीलाई धर्मी ठहराउनुभयो र अनन्त जीवनको उत्तराधिकारी हुनेछौं भन्‍ने आशा दिनुभयो।

[8] यो भनाइ विश्‍वासयोग्य छ। तिमीले यी कुराहरूमा जोड दिएको म चाहन्छु, कि जसले परमेश्‍वरमा भरोसा राखेका छन्, तिनीहरूले जे असल छ, सो गर्नमा आफूलाई लगाऊन्। यी कुराहरू हरेकको लागि अति उत्तम र लाभदायक छन्।

[9] तर मूर्खतापूर्ण विवादहरू, वंशावलीहरूका महान्‌ताको बारेमा कुरा गर्नमा, व्यवस्थाबारे तर्कवितर्क र झगडाहरूबाट अलग बस; किनकि यी बेफाइदा र व्यर्थका हुन्।

[10] विभाजन ल्याउने व्‍यक्‍तिहरूलाई दोस्रो पटकसम्म चेतावनी देऊ, त्यसपछि तिनीहरूसित तिमीहरूको कुनै सम्बन्ध नहोस्।

[11] तिमीलाई यो थाहै छ, कि यस्ता मानिसहरू पापमा लागेका हुन्छन्, र तिनीहरूका आफ्नै पापले तिनीहरूलाई दोषी ठहराइएका हुन्छन्।

[12] मैले अर्तिमास अथवा तुखिकसलाई तिमीकहाँ पठाउनासाथै, तिमी मकहाँ निकोपोलिसमा आउनलाई सकभर प्रयास गर, किनकि मैले त्यहाँ हिउँद कटाउने निश्‍चय गरेको छु।

[13] कानूनविद् जेनास र अपोल्‍लोसलाई यात्रामा सहायता दिनलाई भरमग्दूर प्रयत्‍न गर; ताकि तिनीहरूलाई आवश्यक पर्ने हरेक थोक प्राप्‍त होस्।

[14] जे असल छ, हाम्रा मानिसहरूले त्यो गर्न सिकून्, ताकि नभई नहुने खाँचोहरूका लागि तिनीहरूले मदत दिन सकून्; र तिनीहरूका जीवन निष्फल नहोस्।

[15] मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन्। हामीलाई विश्‍वासमा प्रेम गर्ने सबैलाई हाम्रो अभिवादन भनिदेऊ। तिमीहरू सबैसँग अनुग्रह रहोस्!

तीतस — Chapters