Skip to content
Opens in a new window
Listen to this chapter • 3:22

[1] परमेश्‍वरको सेवक र येशू ख्रीष्‍टको प्रेरित पावलबाट—परमेश्‍वरका चुनिएकाहरूको विश्‍वासलाई बढाउन तथा भक्‍तिमा डोर्‍याउने सत्यको ज्ञानको लागि,

[2] अनन्त जीवनको आशामा अडिएको त्यो विश्‍वास र ज्ञान, जसलाई झूट नबोल्नुहुने परमेश्‍वरले सनातनदेखि नै प्रतिज्ञा गर्नुभएको थियो,

[3] अनि मलाई हाम्रा मुक्‍तिदाता परमेश्‍वरको आज्ञाद्वारा सुम्पनुभएको प्रचारद्वारा उहाँले आफ्नो वचनलाई तोक्नुभएको समयमा प्रकाशमा ल्याउनुभयो।

[4] एउटै विश्‍वासमा भएको मेरो साँचो छोरो तीतसलाई: परमेश्‍वर पिता र हाम्रा मुक्‍तिदाता ख्रीष्‍ट येशूमा अनुग्रह र शान्ति होस्।

[5] मैले तिमीलाई क्रेटमा छोडेको कारण अधुरो कामहरू पूरा गर्न, अनि मैले तिमीलाई अह्राएबमोजिम प्रत्येक शहरमा मण्डली प्रधानहरू नियुक्‍त गर्नलाई हो।

[6] मण्डलीका प्रधान निर्दोष, एउटै पत्नीका पति, जसका छोराछोरीहरू विश्‍वासयोग्य होऊन्, अनि कामुकता र अनाज्ञाकारीताको दोष नलागेका होऊन्।

[7] मण्डली अध्यक्षमाथि परमेश्‍वरको कामको अभिभारा सुम्पिएको हुनाले तिनी निर्दोष, अहङ्कार नगर्ने, चाँडै नरिसाउने, मद्यपान नगर्ने, झगडा नगर्ने, नीच कमाइको लोभ नगर्ने हुनुपर्छ।

[8] बरु तिनी पाहुनासत्कार गर्ने, असल मन पराउने, आत्मसंयमी, सोझो, भक्‍तिमा लागेको र अनुशासित हुनुपर्छ।

[9] तिनलाई सिकाइएका विश्‍वासयोग्य शिक्षामा तिनी दृढ रहून्; ताकि अरूलाई यस शिक्षाले उत्साहित पार्न सकून् र यसको विरोध गर्नेहरूलाई खण्डन गर्न सकून्।

[10] किनकि धेरै मानिसहरू विद्रोही, अर्थहीन कुरै मात्र गर्ने र छलीहरू हुन्छन्; खासगरी खतना समर्थकहरू नै यस्तै हुन्छन्।

[11] तिनीहरूले बेइमानीसाथ लाभ उठाउनको लागि गर्न नहुने कुराहरू सिकाइकन सारा परिवारहरूलाई नष्‍ट पारिरहेका हुनाले तिनीहरूलाई चूप गराउनैपर्छ।

[12] तिनीहरूका अगमवक्‍ताहरूमध्ये एक जनाले त यसो पनि भनेका छन्, “क्रेटकाहरू सधैं झूटा, दुष्‍ट पशुहरू र अल्छे घिचुवाहरू हुन्।”

[13] यो साक्षी साँचो हो। यसकारण तिनीहरूलाई जोडसित हप्काऊ; ताकि तिनीहरू विश्‍वासमा दह्रो बन्‍न सकून्,

[14] र यहूदी दन्त्यकथाहरूतिर अथवा सत्यतालाई अस्वीकार गर्ने ती मानिसहरूका आज्ञाहरूतिर ध्यानै नदिऊन्।

[15] शुद्ध हृदय भएकाहरूका लागि सबै थोकहरू शुद्ध हुन्छन्; तर जो भ्रष्‍ट छन् र विश्‍वास गर्दैनन्, तिनीहरूका लागि केही पनि शुद्ध हुँदैन। वास्तवमा तिनीहरूका मन र विवेक दुवै भ्रष्‍ट भएका हुन्छन्।

[16] तिनीहरूले परमेश्‍वरलाई जान्दछौं भनी दाबी त गर्छन्, तर आफ्ना कामले भने उहाँलाई इन्कार गर्छन्। तिनीहरू घृणित, अटेरी र कुनै असल काम गर्ने योग्यका छैनन्।

तीतस — Chapters