Skip to content
Opens in a new window
Listen to this chapter • 2:56

[1] तिमीले जे खाँटी शिक्षासित सुहाउँदो छ, त्यही शिक्षाहरू सिकाउनू।

[2] वृद्ध मानिसहरूलाई संयमी, आदरका योग्य, आफूलाई अधीनतामा राख्नसक्ने, अनि विश्‍वासमा, प्रेममा र धीरजमा पक्‍का हुन सिकाउनू।

[3] त्यसरी नै वृद्ध स्त्रीहरूलाई जीवनका चालहरूमा आदरणीय, निन्दा नगर्ने, मद्यपान नगर्ने, बरु तिनीहरूले अरूहरूलाई असल कुराहरू सिकाउने होऊन्।

[4] तब तिनीहरूले तरुणी स्त्रीहरूलाई तिनीहरूका पतिहरू र छोराछोरीहरूलाई प्रेम गर्न,

[5] आत्मसंयमी र शुद्ध हुन, घरमा व्यस्त रहन, दयालु हुन र आ-आफ्ना पतिहरूका अधीनतामा बस्‍न सिकाऊन्, ताकि कसैले पनि परमेश्‍वरको वचनको निन्दा गर्न नपाओस्।

[6] त्यसरी नै जवान मानिसहरूलाई पनि आत्मसंयमी हुन उत्साह देऊ।

[7] जे असल छ, सो गरेर हरेक कुरामा तिनीहरूलाई उदाहरण देखाइदेऊ। तिम्रो शिक्षामा इमानदारीता, गम्भीरता देखाऊ।

[8] सत्य सिकाऊ, ताकि तिम्रो शिक्षाको खण्डन गर्न नसकियोस्, र हाम्रो विरुद्धमा खराबी बोल्ने कुरा केही नभएकोले हाम्रो विरोधीहरू शर्ममा परून्।

[9] सेवकहरूलाई सिकाऊ, कि हरेक कुरामा तिनीहरूका आ-आफ्ना मालिकहरूका अधीनतामा बसून्, तिनीहरूलाई प्रसन्‍न राख्न प्रयास गरून्, र जवाफ नफर्काऊन्,

[10] तिनीहरूले नचोरून्, तर तिनीहरूमाथि विश्‍वास गर्न सकिन्छ भनी देखाऊन्। तिनीहरूले हरेक कुरामा हाम्रा परमेश्‍वर मुक्‍तिदाताको शिक्षालाई शोभा बढाऊन्।

[11] किनकि सबै मानिसहरूका उद्धारको लागि परमेश्‍वरले आफ्नो अनुग्रह प्रकट गर्नुभएको छ।

[12] यो अनुग्रहले हामीलाई भक्‍तिहीनता अनि सांसारिक अभिलाषाहरूलाई अस्वीकार गर्न तथा वर्तमान समयमा आत्मसंयम, निर्दोष र भक्‍तिपूर्ण जीवन जिउन सिकाउँछ,

[13] जब हामी त्यो धन्यको आशा अर्थात् हाम्रा महान् परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको महिमाको आगमनको प्रतीक्षा गर्दछौं।

[14] उहाँले हामीलाई हरेक दुष्‍टताबाट मोल तिरेर उद्धार गर्नलाई र सुकर्ममा जोशिलो भएको, आफ्नै निम्ति एक विशेष जातिलाई शुद्ध पार्नलाई, आफ्नो प्राण दिनुभयो।

[15] यसकारण यी कुराहरू तिमीले विश्‍वासीहरूलाई उत्साहकासाथ सिकाउनैपर्छ। सम्पूर्ण अधिकारसहित तिनीहरूलाई अर्ती देऊ र हप्काऊ, कसैले तिमीलाई अवहेलना नगरोस्।

तीतस — Chapters