Skip to content
Opens in a new window
Listen to this chapter • 3:38

[1] हे मालिकहरूहो, आफ्ना सेवकहरूसँग न्यायसङ्गत र उचित व्यवहार गर, किनकि तिमीहरू जान्दछौं कि, स्वर्गमा तिमीहरूका पनि मालिक हुनुहुन्छ।

[2] सतर्क र धन्यवादीसाथ आफूलाई प्रार्थनामा अर्पण गर।

[3] अनि हाम्रो लागि पनि प्रार्थना गर, ताकि परमेश्‍वरले हामीलाई वचनको निम्ति ढोका खोलिदिऊन्, र हामीले ख्रीष्‍टको रहस्यको घोषणा गर्न सकौं, जसको लागि म साङ्लोमा बाँधिएको छु।

[4] जसरी मैले स्पष्‍टसँग घोषणा गर्नुपर्ने हो, त्यसरी नै म घोषणा गर्न सकूँ भनेर प्रार्थना गर,

[5] बाहिरकाहरूसँग बुद्धिमानीपूर्वक व्यवहार गर; सबै अवसरको पूरा सदुपयोग गर।

[6] तिमीहरूको बोलीवचन सधैं नुनजस्तो स्वादिलो र अनुग्रहपूर्ण होस्, ताकि सबैलाई कस्तो जवाफ दिनुपर्छ भनी तिमीहरूले जान्‍न सक।

[7] तुखिकसले तिमीहरूलाई मेरो बारेमा सबै जानकारी दिनेछन्। तिनी प्रभुमा एक प्रिय भाइ, एक विश्‍वासयोग्य सेवक र सङ्गी-सेवक हुन्।

[8] मैले तिनलाई तिमीहरूकहाँ पठाउँदैछु, यस उद्देश्यले कि, तिमीहरूले हाम्रो परिस्थितिहरूबारे जान्‍न सक र तिनले तिमीहरूको हृदयलाई उत्साहित गराऊन्।

[9] तिनी ओनेसिमससँग आइरहेका छन्, जो तिमीहरू मध्यकै एक हुन्, र जो हाम्रा विश्‍वासयोग्य प्रिय भाइ हुन्। तिनीहरूले यहाँको सबै हालखबर तिमीहरूलाई भनिदिनेछन्।

[10] मेरो सङ्गी-कैदी अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्, र मर्कूसले पनि, जो बारनाबासका भाइ पर्छन्। (तिमीहरूले तिनको विषयमा आदेश पाएका छौ, यदि तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर।)

[11] अनि युस्तस भनिने येशूले पनि अभिवादन पठाएका छन्। परमेश्‍वरको राज्यको निम्ति मेरा सहकर्मीहरूमध्ये यहूदीहरूबाट यिनीहरू मात्र हुन् र तिनीहरू मेरो लागि ठूलो सहयोग भएका छन्।

[12] तिमीहरूमध्येका एकजना र ख्रीष्‍ट येशूका सेवक इपाफ्रासले अभिवादन पठाएका छन्। तिनी तिमीहरूको निम्ति जागा रहेर निरन्तर प्रार्थना गरिरहेका छन्, ताकि तिमीहरू सम्पूर्ण रूपले निश्‍चित र परिपक्व भई परमेश्‍वरको सारा इच्छामा स्थिर भई लागिरहन सक।

[13] म तिनको निम्ति साक्षी दिन्छु, कि तिनले तिमीहरूका निम्ति, लाउडिकियामा र हिरापोलिसमा हुनेहरूको निम्ति कठोर परिश्रम गरिरहेका छन्।

[14] हाम्रा प्रिय मित्र वैद्य लूका अनि डेमासले पनि अभिवादन पठाएका छन्।

[15] लाउडिकियामा भएका मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई, निम्फा र तिनका घरमा भएका मण्डलीलाई मेरो अभिवादन भनिदेओ।

[16] यो पत्र तिमीहरूलाई पढेर सुनाइसकेपछि, यसलाई लाउडिकिया मण्डलीमा पनि पढ्न लगाओ र तिमीहरूले फेरि लाउडिकियाबाट आएको पत्र पनि पढ।

[17] अर्खिप्पसलाई भन, “तिमीले प्रभुबाट पाएको काम होसियारीसाथ पूरा गर।”

[18] म पावल, आफ्नै हातले यो अभिवादन लेख्दैछु। मेरो कैदलाई याद गर। तिमीहरूसँग अनुग्रह रहोस्।

कलस्सी — Chapters