Skip to content
Opens in a new window
Listen to this chapter • 4:58

[1] तिमीहरूले यो कुरा जान भनी म चाहन्छु, कि तिमीहरूका निम्ति, लाउडिकियामा हुनेहरूका निम्ति र मलाई व्यक्‍तिगत रूपमा नचिन्‍नेहरू सबैको निम्ति मैले कति कठोर परिश्रम गरिरहेको छु।

[2] मेरो उद्देश्य हो कि, तिनीहरू हृदयमा उत्साहित भई प्रेममा एक होऊन्, ताकि तिनीहरूसित पूर्ण समझको पूरा सम्पति हुन सकोस्, ताकि परमेश्‍वरको रहस्य, जो ख्रीष्‍ट हुनुहुन्छ; उहाँलाई जान्‍न सकून्।

[3] उहाँमा नै बुद्धि र ज्ञानको सारा धन लुकेर रहेका छन्।

[4] म यो कुरा तिमीहरूलाई भन्दछु, कि कसैले तिमीहरूलाई मिठो बोलीमा झूटा सिद्धान्तका तर्कहरूले धोखामा नपारोस्।

[5] किनकि म तिमीहरूका बीचमा शरीरमा अनुपस्थित छु, तापनि आत्मामा चाहिँ तिमीहरूसँगै छु, र तिमीहरू कति अनुशासित छौ र ख्रीष्‍टमा तिमीहरूको विश्‍वास कति दह्रिलो छ भन्‍ने कुरामा म रमाउँछु।

[6] जसरी तिमीहरूले ख्रीष्‍ट येशूलाई प्रभु भनी ग्रहण गर्‍यौ, त्यसरी नै उहाँमा आफ्नो जीवन बिताओ।

[7] उहाँमा जरा हाल्दै र निर्माण हुँदै तिमीहरूलाई सिकाएबमोजिम विश्‍वासमा दह्रिलो हुँदै अनि धन्यवाद दिनमा प्रशस्त हुँदैजाओ।

[8] होसियार होओ कि, कसैले तिमीहरूलाई खोक्रो र छलपूर्ण दर्शनशास्त्रद्वारा शिकार नबनाओस्, जुनचाहिँ ख्रीष्‍टअनुसार होइन, तर मानवीय परम्परा र यस संसारका आधारभूत सिद्धान्तहरूमा आधारित हुन्छन्।

[9] किनकि ईश्‍वरत्वको सारा परिपूर्णता ख्रीष्‍टको शरीरमा वास गर्दछ।

[10] अनि उहाँमा तिमीहरू पूर्णतामा ल्याइएका छौ। उहाँ हरेक शक्‍ति र अधिकारमाथि शिर हुनुहुन्छ।

[11] उहाँमा तिमीहरूको पनि खतना भयो, जुन मानिसका हातहरूद्वारा गरिएको खतना होइन। तिमीहरूका शरीरले शासन गरेको सम्पूर्ण पापमय स्वभावलाई ख्रीष्‍टको आत्मिकी खतनाद्वारा हटाइएको छ।

[12] किनकि जब तिमीहरूको बप्‍तिस्मा भयो तिमीहरू ख्रीष्‍टसँगै गाडियौ, र उहाँसँगै नयाँ जीवनको लागि जीवित पारियौ, किनकि तिमीहरूले ख्रीष्‍टलाई मृत्युबाट बौरी उठाउने परमेश्‍वरको शक्‍तिशाली सामर्थ्यमा विश्‍वास गर्‍यौ।

[13] जब तिमीहरू आफ्ना पापहरूमा र आफ्ना शारीरिक स्वभावको बेखतनामा मरेका थियौ, परमेश्‍वरले तिमीहरूलाई ख्रीष्‍टसँग जीवित पार्नुभयो। उहाँले हाम्रा सबै पापहरूलाई क्षमा गरिदिनुभयो।

[14] उहाँले हाम्रा विरुद्धमा भएका दोषपत्रलाई रद्द गरिदिनुभयो र क्रूसमा काँटी ठोकेर यसलाई हटाइदिनुभयो।

[15] यसरी उहाँले आत्मिकी शासकहरू र अधिकारहरूलाई निःशस्त्र पार्नुभयो। उहाँले क्रूसको विजयद्वारा तिनीहरूलाई सार्वजनिक रूपमा लज्जित बनाइदिनुभयो।

[16] यसकारण तिमीहरूलाई कसैले खाने वा पिउने वा धार्मिक उत्सवको विषयमा, औंसी वा विश्रामदिन मनाउने कुरामा दोष नदियोस्।

[17] यिनीहरू त आउनेवाला कुराहरूका छाया मात्र हुन्, तर वास्तविकता चाहिँ ख्रीष्‍टमा पाइन्छ।

[18] झूटा नम्रता र स्वर्गदूतहरूको आराधना गर्न मन पराउनेहरूले तिमीहरूलाई अयोग्य नतुल्याऊन्; यस्ता व्यक्‍तिहरू तिनीहरूका आफ्नै दर्शनहरूमा भर पर्छन् र उनीहरूका सांसारिक मनले उनीहरूलाई घमण्डले फुलाएको हुन्छ।

[19] शिरसँग तिनीहरूका सम्बन्ध-विच्छेद भएको हुन्छ, जसद्वारा सारा शरीरले पोषण पाएको हुन्छ, जोर्नीहरू र मांसपेशीहरूलाई एकसाथ गाँसिएर सारा शरीरलाई परमेश्‍वरले वृद्धि गराउनु भएअनुसार बढ्दै जान्छ।

[20] तिमीहरू यस संसारका आधारभूत सिद्धान्तहरूका लागि ख्रीष्‍टसँग मारिएका छौ भने अझै तिमीहरू संसारसँग सम्बन्ध भएझैं त्यसका नियमहरूको अधीनतामा किन रहन्छौ?

[21] “नसमात! नचाख! नछोओ!”

[22] यी कुराहरू चलाएपछि नष्‍ट भएर जान्छन्, किनकि यिनीहरू मानवीय नियमहरू र शिक्षाहरूमा आधारित हुन्छन्।

[23] तिनीहरू आफैले आराधना स्थापित गरेर, तिनीहरूका झूटा नम्रता देखाएर र आफ्ना शरीरलाई कष्‍टदायी व्यवहार गरेर, यी नियमहरू साँच्‍चै बुद्धिपूर्ण देखा पर्छन्, तर शारीरिक वासनालाई काबूमा ल्याउन यी कुराहरू केही मूल्यका हुँदैनन्।

कलस्सी — Chapters