[1] यसैले तिमीहरू ख्रीष्टसित जिइउठाइएका हौ भने तिमीहरूका हृदय माथिका कुराहरूमा लगाओ, जहाँ ख्रीष्ट, परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनुभएको छ।
[2] तिमीहरूका मन माथिका कुराहरूमा लगाओ, सांसारिक कुराहरूमा होइन।
[3] किनकि तिमीहरू मरेका थियौ, तर अहिले तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकेको छ।
[4] जब ख्रीष्ट, जो तिमीहरूको जीवन हुनुहुन्छ, देखा पर्नुहुन्छ, तब तिमीहरू पनि उहाँसँगै महिमामा देखा पर्नेछौ।
[5] यसकारण तिमीहरूका सांसारिक स्वभावलाई मार: यौन अनैतिकता, अशुद्धता, कामुकता, दुष्ट इच्छाहरू र लोभ, जो मूर्तिपूजा हो।
[6] यस्तै पापहरूका कारणले परमेश्वरको क्रोध आइरहेछ।
[7] तिमीहरू पनि एकपल्ट यस्तै जीवन जिइरहेका थियौ, र तिमीहरू यी मार्गहरूमा हिँड्ने गर्दथ्यौ।
[8] तर अब तिमीहरूले यी कुराहरू त्याग्नुपर्छ: रिस, क्रोध, डाह, निन्दा र ओठबाट निस्कने फोहोर बोली।
[9] एक-आपसमा झूट नबोल; किनकि तिमीहरूले आफ्नो पुरानो स्वभावलाई त्यसका अभ्यासहरूसमेत त्यागिदिएका छौ।
[10] अनि नयाँ स्वभावलाई धारण गरेका छौ, जुनचाहिँ सृष्टिकर्ताको रूपमा भएको ज्ञानमा नवीकरण हुँदै गइरहेको छ।
[11] यहाँ ग्रीक वा यहूदी, खतनाका वा बेखतनाका, असभ्य, सिथिएन्स सेवक वा फुक्का, केही भिन्नता छैन, तर ख्रीष्ट नै सब थोक र सबैमा मुख्य हुनुहुन्छ।
[12] यसकारण परमेश्वरका चुनिएका, पवित्र र प्रिय जनहरूझैं तिमीहरू आफूले करुणा, दया, नम्रता, कोमलता र धैर्य धारण गर।
[13] एक-अर्कालाई सहने गर; र यदि तिमीहरूमध्ये कसैको कुनै मानिस विरुद्ध गुनासाहरू छन् भने क्षमा गर; जसरी परमेश्वरले तिमीहरूलाई क्षमा दिनुभयो, त्यसरी नै तिमीहरूले पनि क्षमा गर।
[14] अनि यी सबै गुणहरूभन्दा पनि बढी प्रेम धारण गर, जसले सबैलाई सिद्ध एकतामा बाँधेर राख्दछ।
[15] तिमीहरू एउटै शरीरका अङ्गहरूझैं मिलापको निम्ति बोलाइएका हुनाले ख्रीष्टको शान्तिले तिमीहरूका हृदयमा राज्य गरोस्। तिमीहरू धन्यवादी होऊ।
[16] तिमीहरूले पूरा बुद्धिसाथ एक-अर्कालाई सिकाउँदा र हप्काउँदा, ख्रीष्टको वचन तिमीहरूसँग प्रशस्त गरी वास गरोस्। आफ्ना हृदयमा भएका कृतज्ञतासाथ परमेश्वरको निम्ति भजन, स्तुतिगान र आत्मिकी गीतहरू गाओ।
[17] अनि तिमीहरूले कुरा वा काममा जे-जे गर्दछौ, प्रभु येशूद्वारा परमेश्वर पितालाई धन्यवाद चढाउँदै प्रभु येशू ख्रीष्टको नाउँमा ती सबै गर।
[18] हे पत्नीहरूहो, प्रभुको दृष्टिमा सुहाउँदो गरी तिमीहरू आ-आफ्ना पतिहरूका अधीनतामा बस।
[19] हे पतिहरूहो, आ-आफ्नी पत्नीहरूलाई प्रेम गर, र तिनीहरूप्रति कठोर नबन।
[20] हे छोराछोरीहरूहो, हरेक कुरामा आफ्ना आमाबुबाहरूका आज्ञाहरू पालन गर; किनकि यसले परमेश्वरलाई प्रसन्न तुल्याउँछ।
[21] हे बुबाहरूहो, आफ्ना छोराछोरीहरूलाई रिस नउठाओ, नत्र ता तिनीहरू निरुत्साहित होलान्।
[22] हे सेवकहरूहो, प्रत्येक कुरामा तिमीहरूका सांसारिक मालिकहरूको आज्ञा पालन गर; हरेक कुरामा उनीहरूले देख्दा निगाह पाउनालाई मात्र होइन, तर हृदयको इमानदारीताको साथ परमेश्वरलाई श्रद्धा गर्दै हरेक कुरामा तिनीहरूका आज्ञा पालन गर।
[23] तिमीहरू जे गर्दछौ, त्यो मानिसहरूको निम्ति काम गरेझैं होइन, तर परमेश्वरको निम्ति गरेझैं सम्पूर्ण हृदयले गर।
[24] किनकि तिमीहरू जान्दछौ कि, तिमीहरूले प्रभुबाट इनामस्वरूप उत्तराधिकार पाउनेछौ। वास्तवमा तिमीहरूले प्रभु ख्रीष्टकै सेवा गरिरहेका छौ।
[25] जसले खराबी गर्दछ, तिनीहरूले यस खराबीको फल पाउनेछन्; र त्यसमा कुनै पक्षपात हुँदैन।