Skip to content
Opens in a new window
Listen to this chapter • 4:28

[1] यसकारण तिमी, मेरो छोरा, ख्रीष्‍ट येशूमा भएको अनुग्रहमा बलियो होऊ।

[2] मबाट तिमीले धेरै साक्षीहरूका उपस्थितिमा सुनेका शिक्षाहरू यस्ता विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ, जो अरूहरूलाई पनि सिकाउन सक्ने योग्यका छन्।

[3] ख्रीष्‍ट येशूका असल सिपाहीझैं मसँग कष्‍ट भोग।

[4] सिपाहीझैं युद्ध गर्नेले आफूलाई सामान्य नागरिकसरह जीवनका झन्झटहरूमा अलमल्याउँदैन, तर उसले आफ्नो हाकिमलाई प्रसन्‍न पार्न चाहन्छ।

[5] यसैगरी, खेलमा भाग लिनेले पनि नियमबमोजिम नखेली विजेताको मुकुट पाउँदैन।

[6] परिश्रम गर्ने किसानले नै पहिला अन्‍नको हिस्सा पाउनुपर्छ।

[7] मैले जे भनिरहेको छु, त्यसमा ध्यान देऊ; किनकि प्रभुले यी सबैमा तिमीलाई समझ दिनुहुनेछ।

[8] मरेकाहरूबाट जीवित पारिनुभएको दाविदको वंश, येशू ख्रीष्‍टलाई सम्झ। मैलै प्रचार गर्ने सुसमाचार यही हो।

[9] यसै सुसमाचारका लागि म अपराधीझैं साङ्लोले बाँधिने सम्मको कष्‍ट भोगिरहेछु; तर परमेश्‍वरको वचनलाई त साङ्लोले बाँध्न सकिँदैन।

[10] यसकारण परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूका निम्ति, ख्रीष्‍ट येशूमा भएको अनन्त महिमासितको मुक्‍ति पाऊन् भनेर म हरेक कुरा सहन्छु।

[11] यो भनाइ विश्‍वासयोग्य छ: यदि हामी उहाँसित मर्‍यौं भने, हामी पनि उहाँसित जिउनेछौं,

[12] यदि हामीले सह्‍यौं भने, हामी पनि उहाँसित राज्य गर्नेछौं। यदि हामीले उहाँलाई त्याग्यौं भने, उहाँले पनि हामीलाई त्याग्नुहुनेछ,

[13] यदि हामी विश्‍वासरहित छौं भने, उहाँ विश्‍वासयोग्य रहिरहनुहुनेछ, किनकि उहाँ आफ्नो सत्य स्वभावको विरुद्ध जान सक्नुहुन्‍न।

[14] परमेश्‍वरका मानिसहरूलाई यी कुराहरूका विषयमा स्मरण गराइरहनू! परमेश्‍वरको उपस्थितिमा तिनीहरूलाई चेतावनी देऊ, तिनीहरू शब्दहरूको विषयमा तर्कवितर्क नगरून्, किनकि यसबाट केही फाइदा हुँदैन, तर सुन्‍नेहरूलाई नोक्सानी मात्र पुर्‍याउँछ।

[15] आफूलाई परमेश्‍वरको सामु ग्रहणयोग्य तुल्याउने भरमग्दूर प्रयत्‍न गर; एउटा शर्माउन नपर्ने कामदारजस्तै, जसले सत्यको वचनलाई ठीक-ठीकसित प्रयोग गर्दछ।

[16] भक्‍तिहीन र मूर्ख बकबकदेखि अलग बस; किनकि यसमा लागिरहनेहरू अझ बढी भक्‍तिहीन हुँदै जानेछन्।

[17] तिनीहरूका शिक्षा कुहुँदै गएको घाउझैं फैलिन्छ। यस्ताहरूमध्ये हुमेनियस र फिलेतस हुन्,

[18] जो सत्यतादेखि बरालिएका छन्। तिनीहरूले मृतकहरूका पुनर्जीवित भइसकेको छ भनेर कतिपयको विश्‍वासलाई उल्टाइदिन्छन्।

[19] तैपनि परमेश्‍वरको जग दृढपूर्वक खडा नै रहन्छ; जसमा यस्ता अक्षरहरूले मोहर लगाइएको छ: “प्रभुले तिनीहरूलाई चिन्‍नुहुन्छ, जो उहाँका आफ्नाहरू हुन्,” र “प्रभुको नाउँ स्वीकार गर्ने हरेक जन दुष्‍टताबाट अलग हुनैपर्छ।”

[20] एउटा सम्पन्‍न घरमा सुन र चाँदीका भाँडाहरू मात्र हुँदैनन्, तर काठ र माटाका पनि हुन्छन्; कुनै भाँडो विशेष कामको लागि, अनि कुनैचाहिँ सामान्य कामको लागि प्रयोग गरिन्छ।

[21] यदि कुनै मानिसले आफूलाई यस्ता आदरहीन कामहरूबाट शुद्ध राख्दछ भने, त्यो आदरका कामहरूका लागि एउटा पात्र बन्‍नेछ; र त्यो अलग गरिएको, र मालिकको निम्ति उपयोगी अनि हरेक असल काम गर्नमा तत्पर हुनेछ।

[22] यसकारण जवानीका अभिलाषाहरूबाट भाग, र शुद्ध हृदयले प्रभुको नाउँ लिनेहरूसित धार्मिकता, विश्‍वास, प्रेम र शान्तिको पछि लाग।

[23] मूर्खता तथा अज्ञानतापूर्ण विवादहरूबाट अलग बस; किनकि तिमी जान्दछौ यस्ता कुराहरूले झगडाहरू मात्र उत्पन्‍न गराउँछन्।

[24] प्रभुको सेवकले झगडा गर्नैहुँदैन, तर हरेकप्रति दयालु, निपूर्ण रूपमा सिकाउन सक्ने र सहनशील हुनुपर्छ।

[25] आफ्ना विरोधीहरूलाई तिनले नम्रतासाथ सम्झाउनुपर्छ; यो आशामा परमेश्‍वरले तिनीहरूका हृदय परिवर्तन गरून् र सत्यताको ज्ञानमा अगुवाइ गरून्;

[26] र तिनीहरू चेतना पाऊन् र शैतानको पासोबाट उम्कन सकून्, जसमा शैतानले तिनीहरूलाई त्यसको इच्छा पूरा गर्नलाई कैदी बनाएका छन्।

2 तिमोथी — Chapters