Skip to content
Opens in a new window
Listen to this chapter • 2:28

[1] अब भाइहरू हो, हाम्रा प्रभु येशूको आगमन र हाम्रो उहाँसँग एकसाथ भेट गर्ने सम्बन्धमा हामी अनुरोध गर्दछौँ,

[2] कि प्रभुको दिन आइसकेको छ भनी तिमीहरूको मन सजिलै नधर्मराओस्, न त विचलित होस्, न आत्माद्वारा, न वचन न त हाम्रो पत्रद्वारा । प्रभुको आगमन पहिल्यै भइसकेको छ भनेर

[3] तिमीहरूलाई कसैले कुनै प्रकारले छल्न नपाओस् । किनकि पतित, पापमय विनाशको छोरो, अधर्मी मानिस प्रकट नहोऊन्जेलसम्म यो हुन आउनेछैन ।

[4] यो त्‍यो हो जसले आफैलाई उचाल्दछ र परमेश्‍वरको विरोध गर्दछ र आफैलाई परमेश्‍वरको रूपमा प्रस्तुत गरेर महिमित हुन चाहन्‍छ र उहाँको मन्‍दिरमा बस्छ ।

[5] म तिमीहरूसँग हुँदा मैले तिमीहरूलाई ज भनेँ के तिमीहरू त्‍यो सम्झदैनौ ?

[6] अब तिमीहरू जान्‍दछौ कि कुनै कुराले उसलाई रोक्दछ, ताकि ऊ ठिक समयमा मात्र प्रकट हुनेछ ।

[7] किनभने, पापको रहस्यले पहिले देखि नै काम गरिरहेको छ जबसम्म जसले उसलाई थामिराख्‍नुभएको छ उहाँले उसका मार्गबाट हटाउनुहुन्‍न ।

[8] त्‍यसपछि पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले मार्नुहुनेछ र उहाँका आगमनले उसको अन्‍त हुनेछ ।

[9] शैतानका सबै शक्‍तिशाली काम, चिन्हहरू र झुटा आश्‍चर्यकर्महरूको कारण पापको मानिसको आगमन हुनेछ ।

[10] त्‍यो अधार्मिकताका सबै छलका साथ आउनेछ । यी कुराहरू नाश हुनेहरूका निम्ति हुनेछन् जसले बचाइनको लागि परमेश्‍वरको प्रेमको सत्‍यतालाई ग्रहण गरेनन् ।

[11] यसकारण, तिनीहरूले झुटो विश्‍वास गरून् भनी परमेश्‍वरले भ्रमको काम पठाई रहनुभएको छ,

[12] ताकि अधार्मिकतामा रमाउने तर सत्‍यतालाई विश्‍वास नगर्ने सबैको न्‍याय होस् ।

[13] प्रभुका प्रिय भाइहरू हो, हामीले प्रभुलाई तिमीहरूका लागि धन्‍यवाद दिनुपर्छ किनभने परमेश्‍वरले आत्माको शुद्धतामा र सत्‍यताको विश्‍वासमा उद्धारको पहिलो फलझैँ तिमीहरूलाई चुन्‍नुभयो,

[14] हाम्रा सुसमाचारद्वारा प्रभु येशूको महिमा प्राप्‍त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो ।

[15] यसैले अब भाइहरू हो, स्थिर रहो, वचन या हाम्रा पत्रद्वारा तिमीहरूलाई सिकाएका परम्पराहरूलाई पक्रिराख ।

[16] अब हामीलाई प्रेम गर्नुहुने अनुग्रहद्वारा अनन्‍तको सान्‍त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैले तथा परमेश्‍वर हाम्रा पिताले,

[17] हरेक असल काम र वचनमा तिमीहरूका हृदयलाई सान्‍त्वना र स्थिर गराऊन् ।

थेसलोनिकीहरूलाई पावलको दोस्रो पत्र — Chapters