Skip to content
Opens in a new window
Listen to this chapter • 5:52

[1] अब नाओमीका पति एलीमेलेकको वंशका एक जना हुनेखाने कुटुम्ब थिए, जसको नाम बोअज थियो।

[2] मोआबी रूथले नाओमीलाई भनिन्, “जसले मप्रति कृपादृष्‍टि देखाउला, त्यसको पछि शिला-बाला बटुल्न मलाई खेतमा जान दिनुहोस्।” नाओमीले तिनलाई भनिन्, “जाऊ, मेरी छोरी।”

[3] यसकारण तिनी गइन्। अनि कटनी गर्नेहरूका पछि-पछि शिला-बाला बटुल्न थालिन्। यही क्रममा तिनी बोअजको खेतमा काम गर्न पुगिन्, जो एलीमेलेकका वंशका मानिस थिए।

[4] त्यसै बेला बोअज बेथलेहेमबाट आइपुगे। अनि कटनी गर्नेहरूलाई अभिवादन गरे, “याहवेह तिमीहरूसित होऊन्!” तिनीहरूले जवाफ दिए, “याहवेहले तपाईंलाई आशिष् देऊन्!”

[5] कटनी गर्नेहरूका नाइकेलाई बोअजले सोधे, “त्यो जवान स्त्री को हो?”

[6] त्यस नाइकेले जवाफ दिए, “त्यो एउटी मोआबी स्त्री हो, जो नाओमीसित मोआबबाट आएकी हो।

[7] उसले भनी, ‘दया गरी मलाई कटनी गर्नेहरूका पछि-पछि बिटाहरूका बीचमा शिला-बाला बटुल्न दिनुहोस्।’ उसले खेतमा आएर बिहानदेखि अहिलेसम्म नबिसाई काम गरिरहेकी छे; छहारीमुनि एकछिन मात्र आराम गरेकी छे।”

[8] यसकारण बोअजले रूथलाई भने, “मेरी छोरी, मेरा कुरा सुन। तिमी यहाँबाट अरू कुनै पनि खेतमा शिला-बाला बटुल्न नजाऊ, र यहाँबाट कहीँ टाढा नजाऊ। मेरो खेतमा काम गर्ने केटीहरूसँग यहीँ बस।

[9] मानिसहरूले कहाँ-कहाँ कटनी गर्दैछन्, सो हेर; अनि केटीहरूका पछि-पछि लाग। तिमीलाई नछुनू भनी मैले सेवकहरूलाई भनेको छु। तिमीलाई तिर्खा लागेमा तिनीहरूले भरिराखेका गाग्राहरूबाट पानी पिऊ।”

[10] तब तिनले आफ्नो मुहार भुइँतिर झुकाएर दण्डवत् गरिन् र तिनले भनिन्, “म एउटी परदेशी भनी जानेर पनि किन तपाईंले मलाई यस्तो कृपादृष्‍टि गर्नुभयो?”

[11] बोअजले जवाफ दिए, “तिम्रा पतिको मृत्यु भएपछि तिमीले आफ्नी सासूका निम्ति जे गरेकी छौ, सो सबै कुरा मलाई बताइएको छ। कसरी तिमीले आफ्ना आमाबुबा र आफ्नो जन्मभूमि छोडेर आफूले पहिले कहिल्यै नचिनेका मानिसहरूसँग बस्‍नलाई आएकी छौ।

[12] तिमीले जे गरेकी छौ, याहवेहले तिमीलाई त्यसको प्रतिफल देऊन्। इस्राएलका परमेश्‍वर, जसको पखेटामुनि तिमी आश्रय लिन आएकी छौ, उही याहवेहले तिमीलाई प्रशस्त इनाम देऊन्।”

[13] तिनले भनिन्, “मैले हजुरको नजरमा कृपादृष्‍टि पाइरहूँ। यद्यपि तपाईंका सेविकाहरू जत्तिको पनि मेरो स्तर छैन; तथापि तपाईंले मसँग नम्रतासाथ बोल्नुभएर मलाई सान्त्वना दिनुभएको छ।”

[14] खाना खाने समयमा बोअजले तिनलाई भने, “तिमी यहाँ आऊ, र सिर्कामा केही रोटी चोपेर खाऊ।” जब तिनी कटनी गर्नेहरूसँग बसिन्, तब उनले तिनलाई केही भुटेका अन्‍न दिए। तिनले चाहेजति खाइन्, र तिनीसित केही उब्रियो पनि।

[15] जब तिनी शिला बटुल्नलाई उठिन्, तब बोअजले आफ्ना मानिसहरूलाई हुकुम दिए, “यदि उसले बिटाहरूका बीचमा पसेर शिला-बाला बटुली भने पनि उसलाई नरोक।

[16] बरु तिमीहरूले बाँधेका बिटाहरूबाट केही निकालेर उसलाई बटुल्नका लागि छोडिदेओ, तर उसलाई नहप्काओ।”

[17] यसैले रूथले बेलुकीसम्म शिला-बाला बटुलिन्। तिनले बटुलेका जौका बाला माँड्दा प्राय: एक एपा भयो।

[18] त्यसपछि तिनले त्यो बोकेर सहर फर्किन्; अनि तिनले कति धेरै बटुलेको तिनकी सासूले देखिन्। आफूले प्रशस्त खाएर उब्रेको अन्‍न पनि निकालेर रूथले तिनलाई दिइन्।

[19] तिनकी सासूले सोधिन्, “आज तिमीले कहाँ शिला-बाला बटुल्यौ? अनि कहाँ काम गर्‍यौ? ती मानिस धन्यका हुन्, जसले तिमीलाई वास्ता गरे!” यसकारण आफूले जसको खेतमा काम गरेकी थिइन्, तिनको विषयमा रूथले आफ्नी सासूलाई बताइन्, र भनिन्, “मैले आज काम गरेको मानिसको नाम बोअज हो।”

[20] नाओमीले आफ्नी बुहारीलाई भनिन्, “याहवेहले उनलाई आशिष् देऊन्! जिउँदा र मरेकाहरूमाथि याहवेहले कृपा देखाउन छोड्नुभएको छैन।” तिनले भनिन्, “ती मानिस हाम्रा नजिकैका आफन्त हुन्। तिनी हाम्रो परिवारलाई मोल तिरेर छुटाउनेहरू मध्येका एक हुन्।”

[21] तब मोआबी रूथले भनिन्, “उनले मलाई यसो पनि भने, ‘कटनीको काम सबै पूरा नहुँदासम्म मेरा कामदारहरूसँग बस।’ ”

[22] नाओमीले आफ्नी बुहारी रूथलाई भनिन्, “यो तिम्रो लागि असलै हुनेछ। मेरी छोरी, उनका काम गर्ने केटीहरूसँग जानु असल हुन्छ; किनकि अरूको खेतमा जाँदा तिमीमाथि हानि आइपर्न सक्छ।”

[23] यसकारण गहुँ र जौको कटनी नसकुन्जेल रूथ बोअजका काम गर्ने केटीहरू सँगसँगै काम गरिन्, र तिनी आफ्नी सासूसँग नै बस्थिन्।

रूथ — Chapters