[1] न्यायकर्ताहरूका शासनकालमा देशमा अनिकाल पर्यो। यसकारण यहूदाको बेथलेहेमबाट एक जना मानिस आफ्नी पत्नी र दुई छोरालाई लिएर केही समयको निम्ति मोआब देशमा बसाइँ सरे।
[2] यी मानिसको नाम एलीमेलेक थियो। उनकी पत्नीको नाम नाओमी, र उनका दुई छोराका नाम महलोन र किल्योन थियो। तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए। अनि तिनीहरू मोआबमा गए, र त्यहीँ बसोबास गर्न थाले।
[3] केही समयपछि नाओमीका पति एलीमेलेकको मृत्यु भयो। तब तिनी र तिनका दुई छोरा मात्र बाँकी भए।
[4] पछि नाओमीका छोराहरूले मोआबी स्त्रीहरूलाई विवाह गरे। एउटीको नाम ओर्पा र अर्कीको नाम रूथ थियो। तिनीहरू त्यहाँ लगभग दश वर्ष बसे।
[5] त्यसपछि दुवै छोरा महलोन र किल्योनको पनि मृत्यु भयो। यसरी नाओमी दुई छोरा र पतिविना एकलै भइन्।
[6] जब नाओमी मोआबमा छँदै याहवेहले यहूदामा आफ्ना मानिसहरूलाई भोजन जुटाएर सहायता गरिराख्नुभएको छ भनी तिनले सुनिन्, तब नाओमी र तिनका बुहारीहरू त्यहाँबाट घर फर्कन तयार भए।
[7] तिनी जहाँ बसिरहेकी थिइन्, त्यस ठाउँलाई छोडिन्, र आफ्ना बुहारीसहित यहूदाको देशमा फर्कन बाटो लागिन्।
[8] अनि बाटोमा नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, “तिमीहरू आ-आफ्नी आमाका घरमा फर्केर जाओ। जसरी तिमीहरूले आफ्ना मृत पतिहरू र मलाई दया देखायौ, त्यसरी नै याहवेहले पनि तिमीहरूसित दया देखाऊन्।
[9] याहवेहले तिमीहरूलाई तिमीहरूका भविष्यमा हुने आ-आफ्ना पतिहरूका घरमा सुरक्षा देऊन्।” अनि तिनले उनीहरूलाई म्वाइँ खाइन्, र तिनीहरू डाँको छोडेर रोए।
[10] अनि तिनलाई भने, “हामी तपाईंसित तपाईंकै मानिसहरूकहाँ फर्किजानेछौँ।”
[11] तर नाओमीले भनिन्, “मेरा छोरीहरू हो, घर फर्क। तिमीहरू मसँग किन आउँछौ? तिमीहरूका पतिहरूका लागि के म अझै छोराहरू जन्माउन सक्छु र?
[12] मेरा छोरीहरू हो, घर फर्क। अर्को पति पाउनलाई म धेरै बूढी भइसकेकी छु। यद्यपि अझै आशा छ भनी मैले सोचेँ र आज राति नै पति पाएँ, र छोराहरू जन्माएँ भने तापनि
[13] तिनीहरू बढुन्जेलसम्म तिमीहरूले पर्खन्छौ र? उनीहरूका निम्ति तिमीहरू अविवाहित नै रहन्छौ? त्यसो होइन मेरा छोरीहरू हो! तिमीहरूको भन्दा मेरो हृदयको दुःख गहिरो छ; किनकि याहवेहको हात मेरो विरुद्धमा उठेको छ।”
[14] यसमा तिनीहरू फेरि डाँको छोडेर रोए। तब ओर्पाले सासूलाई बिदाइको चुम्बन गरिन्; तर रूथले भने नाओमीलाई छोडिनन्।
[15] “हेर,” नाओमीले भनिन्, “तिम्री जेठानी आफ्ना मानिसहरू र देवताहरूकहाँ फर्केर गई। तिमी पनि ऊसँगै फर्क।”
[16] तर रूथले जवाफ दिइन्, “मलाई तपाईंलाई छोड्न अथवा तपाईंलाई छोडेर फर्कन कर नगर्नुहोस्। तपाईं जहाँ जानुहुन्छ, म त्यहीँ जानेछु। तपाईं जहाँ बस्नुहुन्छ, म त्यहीँ बस्नेछु। तपाईंका मानिसहरू मेरा मानिस हुनेछन्, र तपाईंका परमेश्वर मेरा परमेश्वर हुनुहुनेछ।
[17] तपाईं जहाँ मर्नुहुन्छ, म पनि त्यहीँ मर्नेछु र म त्यहीँ गाडिनेछु। मृत्युले बाहेक अरू कुनै कुराले तपाईंबाट मलाई अलग गरेमा याहवेहले मसित अति कठोर व्यवहार गरून्।”
[18] रूथले आफूसित जाने सङ्कल्प गरेकी थाहा पाएपछि नाओमीले तिनलाई कर गर्न छोडिन्।
[19] यसकारण तिनीहरू बेथलेहेम नपुगुन्जेल यात्रा गरिरहे। जब तिनीहरू बेथलेहेममा आइपुगे, तब सारा सहरमा हलचल मच्चियो, तब त्यहाँका स्त्रीहरूले आश्चर्य मानेर भन्न लागे, “के यिनी नाओमी होइन र?”
[20] “मलाई नाओमी नभन,” तिनले उनीहरूलाई भनिन्। “बरु मलाई मारा भन, किनकि सर्वशक्तिमान्ले मेरो जीवन साह्रै तितो बनाइदिनुभएको छ।
[21] म भरिपूर्ण भएर गएकी थिएँ, तर याहवेहले मलाई रित्तो फर्काएर ल्याउनुभएको छ। मलाई किन नाओमी भन्छौ? याहवेहले मलाई दण्ड दिनुभएको छ। सर्वशक्तिमान्ले ममाथि कष्ट ल्याउनुभएको छ।”
[22] यसरी नाओमी आफ्नी मोआबी बुहारी रूथसित मोआब देशबाट फर्किन्। तिनीहरू बेथलेहेममा आइपुग्दा जौको कटनी सुरु हुँदैथियो।