Skip to content
Opens in a new window
Listen to this chapter • 6:30

[1] सुनले कसरी आफ्नो चमक हरायो! निखुर सुन कसरी फिक्‍का भएको छ! हरेक पवित्र पत्थरहरू सडकको कुनामा छरपस्ट भएका छन्।

[2] सियोनका बहुमूल्य छोराहरू, जो एक पटक सुन जत्तिकै उत्कृष्‍ट थिए, तर अहिले तिनीहरू कुमालेका हातले बनेका माटाका भाँडा समान गनिएका छन्!

[3] स्यालका माउले पनि तिनीहरूका बच्‍चालाई आफ्ना स्तनपान गराउँछन्, तर मेरा प्रजा मरुभूमिका शुतुरमुर्गजस्तै हृदयविहीन भएका छन्।

[4] किनकि दुधे बालकको जिब्रो तिर्खाले त्यसको मुखको तालुमा टाँसिन्छ; केटाकेटीहरूले खानेकुरा माग्छन्, तर कसैले पनि तिनीहरूलाई केही दिँदैनन्।

[5] कुनै समय मिठा-मिठा खानेकुरा खानेहरू अहिले सडकहरूमा बेसहारा भएका छन्। राजकीय बैजनी वस्त्र पहिरेर हुर्केकाहरू अहिले खरानीको घुरानमा बसिरहेका छन्।

[6] मेरो प्रजाको दण्ड सदोमको दण्डभन्दा ठूलो छ, जुन सहर क्षणभरमा विनाश भयो, जसलाई गुहार गर्ने मान्छे एउटै पनि भएन।

[7] त्यसका राजकुमारहरू हिउँभन्दा चम्किला र दूधभन्दा सेता थिए; तिनीहरूको शरीर बहुमूल्य रत्नमणीभन्दा राता र तिनीहरूको रूप नीलमणिको जस्तो तेजस्वी थियो।

[8] तर अहिले तिनीहरूको रूप मोसोभन्दा कालो भएको छ; तिनीहरू सडकहरूमा चिनिँदैनन्। तिनीहरूका छाला हड्डीहरूमा टाँसिएको छ; त्यो काठझैँ सुक्खा भएको छ।

[9] अनिकालले मर्नेहरूभन्दा तरवारले मारिएकाहरू झन् असल हुन्छन्; तिनीहरू जमिनका फसलको अभाव र भोकले पीडित भएर सुक्दै गइरहेका छन्।

[10] जब मेरा प्रजाहरू सर्वनाश भइरहेका थिए, तब दयालु हृदय भएका स्त्रीहरूले पनि आफ्नै हातले आफ्ना छोराछोरीहरूलाई पकाए; आफ्नै सन्तानहरू तिनीहरूका भोजन भए।

[11] याहवेहले आफ्नो क्रोध पूर्ण रूपमा प्रकट गर्नुभएको छ; उहाँले आफ्नो भयङ्कर रिस पोख्नुभएको छ। उहाँले सियोनमा रिसको आगो सल्काउनुभएको छ, र आगोले त्यसका जगहरू भस्म भएको छ।

[12] कुनै पनि शत्रु र विरोधीहरू यरूशलेमका मूलढोकाहरूबाट भित्र पस्लान् भनी न पृथ्वीका राजाहरूले, न त संसारका कुनै मानिसले नै विश्‍वास गरेका थिए।

[13] तर त्यस देशका अगमवक्ताहरूका पाप र पुजारीहरूका अपराधको कारणले गर्दा त्यसो भएको हो। तिनीहरूले यरूशलेमभित्र धर्मीहरूका रगत बगाएका थिए।

[14] अहिले तिनीहरू अन्धा मानिसहरूजस्ता सडकहरूमा छामछुम गरेर हिँड्छन्। तिनीहरू रगत लागेर यति अशुद्ध भएका छन्, कि तिनीहरूका वस्त्रहरू कसैले पनि छुन चाहँदैनन्।

[15] मानिसहरूले अगमवक्ता र पुजारीहरूलाई कराएर भन्छन्, “टाढा जाओ! तिमीहरू अशुद्ध छौ!” “टाढा जाओ! टाढा जाओ! हामीलाई नछोओ!” जब तिनीहरू भगुवा र फिरन्ते भए, तब राष्ट्रहरूको बीचमा विदेशी मानिसहरूले यसो भने, “तिनीहरू अब हामीसित बसोबास गर्न पाउनेछैनन्।”

[16] याहवेह आफैँले तिनीहरूलाई छरपस्ट पार्नुभएको छ; अब उहाँले तिनीहरूको वास्ता गर्न छोड्नुभएको छ। न पुजारीहरूलाई सम्मान दिइएको छ, न त अगुवाहरूलाई नै कृपादृष्‍टि देखाइएको छ।

[17] गुहारका निम्ति व्यर्थै बाटो हेर्दा-हेर्दा हाम्रा आँखा टट्टाइसके; हामीले आफ्नो धरहराबाट यस्तो राष्ट्रको बाटो हेरिबस्यौँ, जसले हामीलाई बचाउन सकेन।

[18] मानिसहरूले हाम्रो हरेक पाइलाको सुराकी गरेको कारण हामी आफ्ना बाटोहरूमा पनि हिँड्न सकेनौँ। हाम्रो अन्त्य नजिक थियो, हाम्रा दिनहरूको गन्ती भइसकेको थियो; किनकि हाम्रो अन्त्यको समय आइपुगेको थियो।

[19] हामीलाई खेदो गर्नेहरू आकाशका चीलहरूभन्दा पनि फूर्तिला थिए; तिनीहरूले हामीहरूलाई पर्वतहरूमा खेदे, र मरुभूमिमा हामीलाई ढुकेर बसे।

[20] याहवेहको अभिषिक्त राजा, हाम्रो जीवनको सास, तिनकै पासोमा थियो। हामीले सोच्यौँ कि राजाकै छायामुनि हामी राष्ट्रहरूका बीचमा सुरक्षित बसोबास गर्नेछौँ।

[21] हे ऊज देशमा बसोबास गर्ने एदोमकी छोरी, रमा र आनन्दित हो। तर पनि त्यो कचौरा तँलाई पिउनलाई दिइनेछ; त्यो कचौरा पिएर तँ मात्तिनेछस्, र आफैँलाई नाङ्गो पार्नेछस्।

[22] हे सियोनकी छोरी, तेरो दण्डको अन्त्य हुनेछ; उहाँले तेरो निर्वासनको अवधि लम्ब्याउनुहुनेछैन। तर हे एदोमकी छोरी, उहाँले तेरो पापको दण्ड दिनुहुनेछ; अनि उहाँले तेरो दुष्‍टता प्रकट गरिदिनुहुनेछ।

विलाप — Chapters