[1] याहवेहको क्रोधको लाठोद्वारा दुःख भोग्ने मानिस म नै हुँ।
[2] उहाँले मलाई खेद्नुभयो, र उज्यालोको सट्टा अन्धकारमा हिँड्न लगाउनुभएको छ;
[3] वास्तवमा उहाँले आफ्नो हात दिनभरि नै घरी-घरी मेरो विरुद्धमा उठाउनुभएको छ।
[4] उहाँले मेरो छाला र मासु धुजा-धुजा पारिदिनुभएको छ; अनि मेरा हड्डीहरू भाँचिदिनुभएको छ।
[5] उहाँले मलाई तितोपना र कष्टले चारैतिर घेरेर कब्जामा पार्नुभएको छ।
[6] उहाँले मलाई धेरै अगि मरेकाहरूलाईझैँ अन्धकारमा राख्नुभएको छ।
[7] म भाग्न नसकूँ भनेर उहाँले मेरो चारैतिर पर्खालले घेर्नुभएको छ; उहाँले मलाई गह्रौँ साङ्लाले बाँध्नुभएको छ।
[8] मैले उहाँलाई सहायताको निम्ति पुकार्दा र रुँदा पनि उहाँले मेरो प्रार्थनालाई इन्कार गर्नुभयो।
[9] उहाँले ठूला-ठूला ढुङ्गाले मेरो बाटो थुनिदिनुभएको छ; उहाँले मेरो बाटो बाङ्गो-टिङ्गो बनाइदिनुभएको छ।
[10] आक्रमण गर्नलाई ढुकिरहेको भालुजस्तै र लुकिरहेको सिंहले जस्तै
[11] उहाँले मलाई बाटोबाट घिसारेर लैजानुभयो, र उहाँले मलाई टुक्रा-टुक्रा पार्नुभयो र सहाराहीन तुल्याउनुभयो।
[12] उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै उहाँको काँडको निसाना बनाउनुभयो।
[13] उहाँले आफ्नो ठोक्रोको काँडले मेरो मुटु छेडिदिनुभयो।
[14] म सबै मानिसहरूको हाँसोको पात्र भएको छु; दिनभरि नै म तिनीहरूको गिल्लाको गीत भएको छु।
[15] उहाँले मलाई तितो जडीबुटीले भरिदिनुभयो र पित्त पिउन दिनुभयो।
[16] उहाँले रोडा चपाउन लगाएर मेरा दाँतहरू भाँचिदिनुभयो; उहाँले मलाई धुलोमा कुल्चीमिल्ची गर्नुभयो।
[17] मेरो आत्माबाट शान्ति खोसिएको छ; सुख के हो, त्यो मैले बिर्सिसकेको छु।
[18] यसकारण म भन्दछु, “मेरो गौरव र मैले याहवेहबाट गरेको आशा टुटिसकेको छ।”
[19] म मेरो कष्ट र मेरो घरविहीनको अवस्था, तितोपन र पित्तको स्मरण गर्दछु।
[20] म तिनीहरूलाई राम्ररी स्मरण गर्दछु, र मेरो आत्मा मभित्र हताश हुन्छ।
[21] तर पनि जब म यो कुरा स्मरण गर्दछु, तब यसैले मलाई आशा दिन्छ:
[22] याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ; किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन।
[23] हरेक बिहान ती नयाँ भएर आउँछन्; तपाईंको विश्वसनीयता महान् छ।
[24] म आफूलाई भन्दछु, “याहवेह मेरो सर्वस्व हुनुहुन्छ; यसैकारण म उहाँको प्रतीक्षा गर्नेछु।”
[25] याहवेहमा आशा राख्नेहरू र उहाँको खोजी गर्नेहरूसँग उहाँ भलो हुनुहुन्छ;
[26] याहवेहको उद्धारका निम्ति चुपचाप प्रतीक्षा गर्नु असल कुरा हो।
[27] आफ्नो जवान अवस्थामा नै जुवा बोक्नु मानिसका निम्ति असल हुन्छ।
[28] त्यो एकलै शान्त भएर बसोस्; किनकि याहवेहले त्यसलाई जुवा बोकाउनुभएको छ।
[29] त्यसले आफ्नो मुख भुइँसम्म झुकाओस्, अझै पनि त्यसमा आशा होस्।
[30] उसलाई प्रहार गर्नेलाई त्यसले आफ्नो गाला थापिदिओस्; अनि त्यसले अपमान गिल्ला सहँदै रहोस्।
[31] किनकि प्रभुले मानिसलाई सधैँभरिको निम्ति कहिल्यै पनि त्याग्नुहुनेछैन।
[32] उहाँले दुःख दिनुभए तापनि उहाँले कृपा देखाउनुहुन्छ; किनकि उहाँको अटुट प्रेम अति महान् छ।
[33] किनकि उहाँले स्वइच्छाले कसैमाथि पनि दुःख वा कष्ट दिनुहुन्न।
[34] यहूदा देशका सबै कैदीहरूलाई पैतालामुनि कुल्चँदा,
[35] सर्वोच्च परमेश्वरको सामु मानिसको अधिकार खोसिँदा,
[36] र तिनीहरूले न्याय नपाउँदा के यी सबै कुराहरू प्रभुले देख्न सक्नुहुन्न र?
[37] प्रभुले आज्ञा गर्नुभएन भने कसले पो बोलेको कुरा पूरा गर्न सक्छ?
[38] के सर्वोच्चका मुखबाट नै विपत्ति र असल कुरा दुवै आउँदैनन् र?
[39] जीवित मानिसले आफ्ना पापको दण्ड पाउँदा किन गनगन गर्नु?
[40] हामीले हाम्रा चालहरू जाँच गरेर हेरौँ, र हामी याहवेहतिर फर्कौँ।
[41] हामी हाम्रा हात र हृदय स्वर्गका परमेश्वरतिर उचालौँ र भनौँ:
[42] “हामीले पाप गरेका छौँ र विद्रोह गरेका छौँ, अनि तपाईंले क्षमा गर्नुभएको छैन।
[43] “तपाईं क्रोधले भरिनुभयो र हामीलाई खेद्नुभयो; तपाईंले हामीलाई निर्दयतापूर्वक मार्नुभयो।
[44] तपाईंले आफैँलाई बादलले ढाक्नुभएको छ, ताकि तपाईंकहाँ कुनै पनि प्रार्थना नपुगोस्।
[45] तपाईंले हामीलाई राष्ट्रहरूका बीचमा फोहोर-कसिङ्गरको थुप्रोझैँ बनाउनुभएको छ।
[46] “हाम्रा सबै शत्रुहरूले ठूलो मुख खोलेर हाम्रा विरुद्धमा बोलेका छन्।
[47] हामीले त्रास र खतराको पासो, नाश र विनाशको कष्ट भोगेका छौँ।”
[48] मेरा आँखाबाट आँसुका धारा निरन्तर बग्दछन्; किनकि मेरा मानिसहरू सर्वनाश भएका छन्।
[49] मेरा आँखाबाट आँसु नरोकी, निरन्तर बगिरहनेछ,
[50] जबसम्म याहवेहले स्वर्गबाट तल हेर्नुहुन्न र देख्नुहुन्न।
[51] मैले देखेको कुराले मलाई शोकित बनाउँदछ; किनकि म मेरो सहरका सबै स्त्रीहरूको दुर्दशा देख्छु।
[52] मेरा शत्रुहरूले विनाकारण मलाई चरालाई झैँ शिकार गरिहिँडे।
[53] तिनीहरूले एउटा खाडलमा मेरो जीवनको अन्त्य गर्न खोजे र मलाई ढुङ्गाले हाने;
[54] पानी मेरो टाउकोसम्म नै आइपुग्यो; तब मैले सोचेँ कि अब मेरो अन्त्य आइपुग्यो।
[55] हे याहवेह, मैले खाडलको गहिराइबाट, तपाईंको नाममा पुकारेँ।
[56] तपाईंले मेरो बिन्ती सुन्नुभयो: “छुटकाराको मेरो पुकारप्रति आफ्नो कान बन्द नगर्नुहोस्!”
[57] मैले पुकारेको दिनमा तपाईं मेरो छेउमा आउनुभयो, र तपाईंले भन्नुभयो, “नडरा!”
[58] हे प्रभु, तपाईंले मेरो मुद्दाहरू लिएर लड्नुभयो; र तपाईंले मेरो जीवनको उद्धार गर्नुभयो।
[59] हे याहवेह, तपाईंले ममाथि भएको अत्याचार देख्नुभएको छ। मेरो न्याय गरिदिनुहोस्!
[60] तिनीहरूले मसित लिएको बदलाको गहिराइ र मेरो विरुद्धमा गरेका सबै युक्तिहरू देख्नुभएको छ।
[61] हे याहवेह, तिनीहरूले ममाथि गरेका अपमान र तिनीहरूका सबै युक्तिहरू तपाईंले सुन्नुभएको छ;
[62] मेरा शत्रुहरूले दिनभरि मेरो विरुद्धमा गरेका कानेखुसी र गनगनलाई सुन्नुभएको छ।
[63] तिनीहरूको उठाइ र बसाइ हेर्नुहोस्! तिनीहरू गीत गाएर मेरो गिल्ला गर्दछन्।
[64] हे याहवेह, तिनीहरूका हातले जे गरेका छन्, तिनीहरूले पाउनुपर्ने उचित दण्ड तिनीहरूलाई दिनुहोस्।
[65] तिनीहरूका हृदयमा पर्दा लगाइदिनुहोस्; अनि तपाईंको श्राप तिनीहरूमाथि परोस्!
[66] हे याहवेह, आफ्नो रिसमा तिनीहरूलाई खेद्नुहोस्, र तपाईंको स्वर्गमुनिबाट नाश गर्नुहोस्!