[1] हे इस्राएल, रमाइलो नगर्; अरू राष्ट्रहरूजस्तै हर्षले उत्सव नमना। किनकि तँ आफ्ना परमेश्वरप्रति विश्वासघाती भएको छस्; तैँले हरेक खलामा वेश्यावृत्तिको ज्याला मन पराएको छस्।
[2] खला र दाखरसको कोलहरूले मानिसहरूलाई खुवाउने छैनन्; तिनीहरूलाई नयाँ दाखरसको अभाव हुनेछ।
[3] तिनीहरू याहवेहको देशमा बस्नेछैनन्; एफ्राइम फेरि इजिप्टतिर फर्कनेछ, र अश्शूरमा अशुद्ध भोजन खानेछ।
[4] तिनीहरूले याहवेहकहाँ दाखरसको भेटी चढाउनेछैनन्, न त तिनीहरूका बलिदानहरूले उहाँलाई खुशी तुल्याउनेछ। यस्ता बलिदानहरू तिनीहरूका निम्ति विलाप गर्नेहरूको रोटीजस्ता हुनेछन्; ती रोटी खाने सबै अशुद्ध हुनेछन्। त्यो भोजन तिनीहरूकै भोकको निम्ति मात्र हुनेछ; त्यो याहवेहको मन्दिरमा आउनेछैन।
[5] “तेरा निम्ति तोकिएका चाडहरूको दिनमा, याहवेहका चाडका दिनहरूमा, तैँले के गर्नेछस्?
[6] यदि तिनीहरू विनाशबाट भागे तापनि इजिप्टले तिनीहरूलाई जम्मा गर्नेछ, र मेम्फिसका मानिसहरूले तिनीहरूलाई गाड्नेछन्। तिनीहरूका चाँदीका भण्डारहरूलाई सिस्नुघारीले छोप्नेछ, र तिनीहरूका पालहरूलाई काँडाघारीले ढाक्नेछ।
[7] इस्राएलले यो कुरा थाहा गरोस्, दण्डका दिनहरू आइरहेका छन्; प्रतिशोधका दिनहरू ज्यादै नजिकै छन्। किनभने तेरा पापहरू अति धेरै छन्, तेरो शत्रुता धेरै भएको कारण तैँले अगमवक्तालाई मूर्ख र प्रेरणा पाएको मानिसलाई बौलाहासरह ठान्छस्।
[8] अगमवक्ता मेरा परमेश्वरको साथसाथै एफ्राइमको पनि पहरेदार हो; तरै पनि त्यसका सबै बाटोहरूमा त्यसलाई पासो र त्यसका परमेश्वरको भवनमा शत्रुताले पर्खिरहेको हुन्छ।
[9] तिनीहरू गेबाका दिनमा जस्तै, भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन्। परमेश्वरले तिनीहरूको दुष्टता याद गर्नुहुनेछ, र उहाँले तिनीहरूका पापको निम्ति दण्ड दिनुहुनेछ।
[10] “जब मैले इस्राएललाई भेट्टाएँ, त्यो त मरुभूमिमा अङ्गुर भेट्टाएझैँ थियो, जब मैले तिमीहरूका पितापुर्खाहरूलाई देखेँ, त्यो नेभाराको रूखमा भएको पहिलो फलझैँ थियो। तर जब तिनीहरू बाल-पिओरमा आए, तब तिनीहरूले आफूलाई त्यस घिनलाग्दो मूर्तिमा समर्पण गरे, र तिनीहरू ती घृणित वस्तुझैँ बने, जसलाई तिनीहरूले प्रेम गर्थे।
[11] एफ्राइमको महिमा चराझैँ उडेर जानेछ, अर्थात् तिनीहरूमा न त कसैको जन्म, न कोही गर्भावस्था, न त कसैको गर्भधारण हुनेछ।
[12] यदि तिनीहरूले छोराछोरी जन्माए तापनि म तिनीहरूलाई प्रत्येक बालकको निम्ति शोकित तुल्याउनेछु। तिनीहरूलाई धिक्कार! जब म तिनीहरूबाट टाढा जान्छु।
[13] मैले एफ्राइमलाई टायरजस्तै सुन्दर ठाउँमा रोपिएको देखेको छु। तर एफ्राइमले आफ्ना छोराछोरीहरूलाई वधशालामा मारिनका निम्ति ल्याउनेछ।”
[14] हे याहवेह, तिनीहरूलाई दण्ड दिनुहोस्, अर्थात् तपाईं तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूलाई तुहुने गर्भहरू, र सुकेका स्तनहरू दिनुहोस्।
[15] “गिलगालमा तिनीहरूका सबै दुष्टताहरूको कारण मैले तिनीहरूलाई घृणा गरेँ। तिनीहरूका दुष्ट कामहरूको कारण म तिनीहरूलाई मेरो भवनदेखि निकालिदिनेछु। अब उसो म तिनीहरूलाई प्रेम गर्नेछैनँ; तिनीहरूका सबै अगुवाहरू विद्रोही छन्।
[16] एफ्राइम काटिएर ढलेको छ, तिनीहरूका जरा ओइलाएका छन्; तिनीहरूले कुनै पनि फल फलाउँदैनन्। यदि तिनीहरूले छोराछोरी जन्माए तापनि म तिनीहरूका प्रिय सन्तानहरूलाई मारिदिनेछु।”
[17] मेरा परमेश्वरले तिनीहरूलाई अस्वीकार गर्नुहुनेछ; किनकि तिनीहरूले उहाँका वचनहरू पालन गरेनन्; तिनीहरू राष्ट्रहरूबीच भौँतारिँदै हिँड्नेछन्।