Skip to content
Opens in a new window
Listen to this chapter • 3:02

[1] एफ्राइमले बतासले आफ्नो पेट भर्छ; त्यसले दिनभरि पूर्वीय बतासलाई पछ्याउँछ; अनि झूट र हिंसा बढाउँछ। त्यसले अश्शूरसँग सन्धि गर्छ, र त्यसले इजिप्टमा जैतुनको तेल पठाउँछ।

[2] याहवेहले यहूदाको विरुद्धमा अभियोग लगाउनुहुन्छ; उहाँले याकोबलाई उसको व्यवहारअनुसारको दण्ड दिनुहुनेछ, र उहाँले उसको कामअनुसारको प्रतिफल दिनुहुनेछ।

[3] उसले आमाको गर्भमा हुँदा नै आफ्ना दाजुको कुर्कुच्‍चा पक्रेको थियो; मानिस भएर पनि उसले परमेश्‍वरसित कुश्ती खेल्यो।

[4] उसले स्वर्गदूतसित कुश्ती खेल्यो र उसलाई जित्यो; ऊ रोयो र दूतसँग निगाहको निम्ति बिन्ती गर्‍यो। उहाँले उसलाई बेथेलमा भेट्नुभयो, र उहाँले त्यहाँ उससँग कुरा गर्नुभयो,

[5] अर्थात् याहवेह सेनाहरूका परमेश्‍वर हुनुहुन्छ, र याहवेह उहाँको नाम हो!

[6] तर तँ आफ्ना परमेश्‍वरकहाँ फर्कनुपर्छ; प्रेम र न्याय कायम राख्, र सधैँ तेरा परमेश्‍वरको प्रतीक्षा गर्।

[7] व्यापारीले छलको तराजु प्रयोग गर्छ, र त्यसले छल गर्न रुचाउँछ।

[8] एफ्राइमले घमण्डसित भन्छ, “म अति धनी छु; म धनाढ्य भएको छु। मेरा सबै धनसम्पत्तिले गर्दा तिनीहरूले ममा कुनै अधर्म अथवा पाप भेट्टाउनेछैनन्।”

[9] “म याहवेह तेरा परमेश्‍वर हुँ, जसले तँलाई इजिप्टबाट ल्याएको हुँ; तेरा तोकिएका चाडहरूका दिनहरूमा झैँ म तँलाई फेरि पालहरूमा बस्‍न लगाउनेछु।

[10] मैले अगमवक्ताहरूसँग कुरा गरेको छु, तिनीहरूलाई धेरै दर्शनहरू पनि दिएको छु; अनि तिनीहरूद्वारा दृष्‍टान्तहरू भनेको छु।”

[11] के गिलाद दुष्‍ट हो? त्यहाँका मानिसहरू व्यर्थका छन्! के तिनीहरूले गिलगालमा साँढेहरूको बलि चढाउँछन्? तिनीहरूका वेदीहरू जोतिएका जमिनमा थुपारिएका ढुङ्गाका थुप्राहरूजस्ता हुनेछन्।

[12] याकोब अराम देशमा भागेर गयो; इस्राएलले पत्नी पाउनलाई सेवा गर्‍यो, र तिनको ज्यालाको निम्ति भेडाहरू चरायो।

[13] याहवेहले इस्राएललाई इजिप्टबाट निकालेर ल्याउन एक जना अगमवक्तालाई प्रयोग गर्नुभयो; उहाँले एक जना अगमवक्ताद्वारा नै त्यसको हेरचाह गर्नुभयो।

[14] तर एफ्राइमले परमेश्‍वरलाई साह्रै रिस उठाएको छ; त्यसले बगाएको रक्तपातको दोष याहवेहले त्यसैमाथि छोड्नुहुनेछ; अनि त्यसले उहाँलाई गरेको अपमानको बदला लिनुहुनेछ।

होशे — Chapters