[1] हे इस्राएलको घराना हो, मैले तिमीहरूका निम्ति गरेको विलापको गीत सुन:
[2] “कन्ये इस्राएल फेरि कहिल्यै नउठ्ने गरी लडेकी छे; आफ्नै देशमा त्यागिएकी छे; त्यसलाई उठाउने कोही पनि छैन।”
[3] प्रभु याहवेह इस्राएललाई यसो भन्नुहुन्छ: “तेरो सहरबाट एक हजार जना सेनाहरू निस्कन्छन्, तर केवल एक सय मात्र छोडिनेछन्; तेरो सहरबाट एक सय जना सेनाहरू निस्कन्छन्, तर केवल दश जना मात्र छोडिनेछन्।”
[4] याहवेहले इस्राएलको घरानालाई यसो भन्नुहुन्छ: “मलाई खोज र तिमीहरू जीवित रहो;
[5] बेथेललाई नखोज, गिलगालमा नजाओ र बेर्शेबातिर यात्रा नगर। किनकि गिलगाल निश्चय नै निर्वासनमा लगिनेछ; अनि बेथेल काम नलाग्ने हुनेछ।”
[6] याहवेहलाई खोज र जीवित रहो, नत्रता उहाँ योसेफको घरानामा आगोजस्तै दन्किएर आउनुहुनेछ; जुन आगोले तिनीहरूलाई भस्म पार्नेछ, र त्यसलाई निभाउन बेथेलमा कोही पनि हुनेछैन।
[7] त्यहाँ न्यायलाई तितो बनाउने, र धार्मिकतालाई माटोमा मिलाउने दुवै हुनेछैनन्।
[8] उहाँले किरकिटी र मृगशिरा तारामण्डललाई सृजना गर्नुभयो, जसले मध्य रातलाई बिहानीमा र र मध्य दिनलाई रातमा परिवर्तन गर्नुहुन्छ; जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ, र ती पानीहरूलाई जमिनमाथि खन्याउनुहुन्छ; उहाँको नाम याहवेह हो।
[9] उहाँले बलिया किल्लाहरूलाई अचानक सर्वनाश गर्नुहुन्छ, र बलिया गढ भएको सहरलाई तहसनहस पार्नुहुन्छ।
[10] तिमीहरू अदालतमा साँचो न्याय गर्नेलाई घृणा गर्छौ, र सत्य बोल्नेलाई तुच्छ ठान्छौ।
[11] तिमीहरू गरिबमाथि परालको समेत कर लगाउँछौ, र तिनीहरूका अन्नमा कर थोपर्छौ। यसकारण तिमीहरूले ढुङ्गाका महलहरू बनाएका छौ, तर तिमीहरू ती महलहरूमा बस्नेछैनौ; तिमीहरूले सुन्दर दाखबारी लगाएका छौ, तर तिमीहरूले त्यसको दाखरस पिउनेछैनौ।
[12] किनकि म जान्दछु, तिमीहरूका अपराधहरू कति धेरै छन्, र तिमीहरूका पापहरू निकै गम्भीर छन्। तिमीहरू जसले धर्मीहरूलाई सताउँछौ र घूस लिन्छौ; अनि गरिबलाई अदालतमा न्याय पाउनबाट रोक्छौ।
[13] यसकारण यस्तो समयमा बुद्धिमान् मानिस पनि चुपचाप बस्नेछ; किनकि समय खराब छ।
[14] भलाइको खोजी गर, दुष्टताको होइन, ताकि तिमीहरू बाँचिरहो। तब तिमीहरूले भन्ने गरेझैँ, याहवेह सेनाहरूका परमेश्वर तिमीहरूसँग हुनुहुनेछ।
[15] दुष्टतालाई घृणा गर, भलाइलाई प्रेम गर; अदालतमा न्यायलाई कायम राख। सायद याहवेह सेनाहरूका परमेश्वरले योसेफका बाँकी रहेकाहरूमाथि अनुग्रह गर्नुहुनेछ।
[16] यसकारण याहवेह सेनाहरूका परमेश्वर भन्नुहुन्छ: “सबै सडकहरूमा रुवाबासी र हरेक सार्वजनिक चोकहरूमा वेदनाका रोदनहरू हुनेछन्। खेती गर्ने किसानहरूलाई रुन र शोक गर्नेहरूलाई विलाप गर्न बोलाइनेछ।
[17] त्यहाँ सबै दाखबारीहरूमा रुवाबासी हुनेछ; किनकि म तिमीहरूका बीचबाट भएर जानेछु,” याहवेह भन्नुहुन्छ।
[18] धिक्कार तिमीहरूलाई, जसले याहवेहको दिनको तिर्सना गर्दछौ! तिमीहरू याहवेहको दिनको किन तिर्सना गर्दछौ? त्यो दिन उज्यालो होइन, तर अन्धकारको दिन हुनेछ।
[19] कुनै मानिस सिंहबाट भागेर भालुलाई भेटे जस्तै, र घरभित्र पस्दा, र विश्रामको लागि आफ्नो हात भित्तामा राख्दा त्यसलाई सर्पले डसेजस्तै, त्यो दिन हुनेछ।
[20] हो, याहवेहको दिन उज्यालो होइन, तर अन्धकारमय हुनेछ; अर्थात् उज्यालोको किरण विनाको घोर अन्धकार।
[21] “म तिमीहरूका धार्मिक चाडहरूलाई तुच्छ ठान्छु; मेरा लागि तिमीहरूका सभाहरू दुर्गन्धजस्तै हो।
[22] तिमीहरूले मेरा निम्ति होमबलि र अन्नबलिहरू चढाए पनि, म ती बलिहरू ग्रहण गर्नेछैनँ। तिमीहरूले अति असल बाछाको मेलबलिहरू चढाए तापनि म ती बलिहरूलाई वास्ता गर्नेछैनँ।
[23] तिमीहरूका प्रशंसाको होहल्ला मबाट टाढा राख! म तिमीहरूका वीणाको सङ्गीत सुन्नेछैनँ।
[24] तर न्याय एउटा नदीझैँ बगोस्, र धार्मिकताचाहिँ कहिल्यै नसुक्ने मुहानझैँ!
[25] “हे इस्राएलका घराना हो, के तिमीहरूले उजाडस्थानमा चालीस वर्षसम्म मेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ?
[26] तर तिमीहरूले आफ्ना राज-देव सक्कूत, र तिमीहरूको तारा-देव कीयूनका देवस्थानलाई उचालेका छौ, जसलाई तिमीहरूले आफ्नै निम्ति बनाएका थियौ।
[27] यसकारण म तिमीहरूलाई दमस्कसभन्दा टाढा निर्वासनमा पठाउनेछु,” याहवेह भन्नुहुन्छ, जसको नाम सेनाहरूका परमेश्वर हो।