Skip to content
Opens in a new window
Listen to this chapter • 3:53

[1] आमोसका वचनहरू, जो तकोका गोठालाहरूमध्येका एक जना थिए। जब उज्जियाह यहूदाका राजा थिए र यारोबामका छोरा योआशचाहिँ इस्राएलका राजा थिए, तब भुइँचालो जानुभन्दा दुई वर्षअगि आमोसले इस्राएलको बारेमा यस्तो दर्शन देखेका थिए।

[2] तिनले भने: “याहवेह सियोन पर्वतदेखि सिंहझैँ गर्जनुहुन्छ, र यरूशलेमबाट चर्को आवाजमा गर्जनुहुन्छ; गोठालाका खर्कहरू सुकेर जान्छन् र कर्मेलको टाकुरा ओइलाउँछ।”

[3] याहवेह यसो भन्‍नुहुन्छ: “दमस्कसका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि त्यसले फलामका दाँतहरू भएका डण्डाले गिलादलाई दाइँ गरेकी छे;

[4] म हजाएलको घरमा आगो पठाउनेछु, जसले बेन-हददका किल्‍लाहरूलाई भस्म पार्नेछ।

[5] म दमस्कसका ढोकालाई फोरिदिनेछु; म अवेनको बेँसीमा बस्‍ने राजालाई नाश गर्नेछु; अनि बेथ-अदनमा राजदण्ड लिने राजालाई म नाश गर्नेछु। अरामका मानिसहरू निर्वासित भएर कीर देशमा जानेछन्,” याहवेहले भन्‍नुहुन्छ।

[6] याहवेह यसो भन्‍नुहुन्छ: “गाजाका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि गाजाले सारा समुदायलाई कैदमा लगेकी छे; अनि एदोमको हातमा तिनीहरूलाई बेचेकी छे;

[7] म गाजाका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसका किल्‍लाहरू भस्म पार्नेछ।

[8] म अश्दोदको राजा र अश्कलोनको राजदण्ड लिनेलाई नाश गर्नेछु। सबै पलिश्तीहरू नमरेसम्म, म मेरो हात एक्रोनको सहरको विरुद्धमा उठाउनेछु,” प्रभु याहवेह भन्‍नुहुन्छ।

[9] याहवेह यसो भन्‍नुहुन्छ: “टायरका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि त्यसले मित्रताको सन्धिलाई अनादर गर्दै एदोमलाई कैदीको सारा समुदाय बेचेकी छे;

[10] म टायरका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसका बलिया किल्‍लाहरूलाई भस्म पार्नेछ।”

[11] याहवेह यसो भन्‍नुहुन्छ: “एदोमका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि एदोमले आफ्नो भाइलाई तरवारले खेद्‌यो, र देशका स्त्रीहरूलाई मार्‍यो; किनभने त्यसको रिस निरन्तर उठिरह्‍यो, र त्यसको रिसको ज्वाला दन्किरह्‍यो।

[12] म तेमानमाथि आगो पठाउनेछु; त्यसले बोज्राका किल्‍लाहरूलाई भस्म पार्नेछ।”

[13] याहवेह यसो भन्‍नुहुन्छ: “अम्मोनका तीन वटा पापहरूका कारण, अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ। किनकि अम्मोनले आफ्ना सिमानाहरू बढाउनका निम्ति गिलादका गर्भवती स्त्रीहरूका पेट तरवारले चिरिदियो।

[14] म रब्बाका पर्खालहरूमाथि आगो पठाउनेछु, जसले त्यसको किल्‍लाहरू भस्म पार्नेछ; लडाइँको दिनमा युद्ध ध्वनिहरूका बीचमा, र आँधीबेहरीको दिनमा प्रचण्ड बतासको बीचमा भस्म पार्नेछ।

[15] रब्बाका राजाका साथै तिनी र तिनका अधिकारीहरू सबै एकसाथ निर्वासनमा लगिनेछन्,” याहवेह भन्‍नुहुन्छ।

आमोस — Chapters