Skip to content
Opens in a new window
Listen to this chapter • 3:54

[1] मेरा भाइहरू हो, केही मानिसहरूप्रति पक्षपात गर्दै महिमाका प्रभु हाम्रा प्रभु येशू ख्रीष्‍टमा तिमीहरूले विश्‍वास नगर ।

[2] विचार गर कि कोही मानिस तिमीहरूको सभामा सुनका औँठीहरू र राम्रा-राम्रा लुगाहरू लगाएर प्रवेश गर्‍यो र त्‍यहाँ एउटा गरिब मानिस पनि फोहोर पहिरनमा आयो ।

[3] यदि तिमीहरूले त्‍यस राम्रा-राम्रा लुगा लगाएको मानिसतर्फ हेर्छौ र “कृपया यहाँ यस राम्रो स्थानमा बस्‍नुहोस्” भनेर भन्‍छौ, तर तिमीहरूले त्‍यस गरिब मानिसलाई “तँ यहीँ उभी” वा “मेरो पाउनेर बस्” भनेर भन्‍छौ भने,

[4] के तिमीहरूले आफैँबिच न्‍याय गरिरहेका छैनौ र ? के तिमीहरू दुष्‍ट विचारहरू भएका न्‍यायकर्ताहरू बनेनौ र ?

[5] मेरा प्रिय भाइहरू हो, सुन, के परमेश्‍वरले संसारका गरिबहरूलाई विश्‍वासमा धनी हुनको निम्ति र उहाँलाई प्रेम गर्नेहरूका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको राज्‍यको उत्तराधिकारीहरू हुनलाई चुन्‍नुभएन र ?

[6] तर तिमीहरूले गरिबहरूलाई अनादर गरेका छौ । के तिमीहरूमाथि दमन गर्ने धनीहरू नै होइनन् र ? र तिमीहरूलाई अदालतमा तानेर लैजाने तिनीहरू नै होइनन् र ?

[7] तिमीहरू जसका हौ, उहाँको सुनामलाई तिनीहरूले नै अपमान गर्दैनन् र ?

[8] तथापि, यदि तिमीहरूले “आफ्ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्‍ने धर्मशास्‍त्रको राजकीय व्यवस्थालाई पुरा गर्दछौ भने, तिमीहरूले असलै गर्दछौ ।

[9] तर यदि तिमीहरूले कोही मानिसहरूप्रति भेदभाव देखायौ भने, तिमीहरूले पाप गरेका हुन्‍छौ, र तिमीहरू व्यवस्थाद्वारा व्यवस्थाको उल्लङ्‌घन गर्नेहरू भनी दोषी ठहरिन्‍छौ ।

[10] किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर एउटै कुरामा मात्र ठक्‍कर खान्‍छ भने, त्‍यो सम्पूर्ण व्यवस्थाको उल्लङ्‌घन गरेकोमा दोषी ठहरिन्‍छ ।

[11] किनभने जसले “व्यभिचार नगर” भनेर भन्‍नुभयो उहाँले “हत्‍या नगर” पनि भन्‍नुभयो । यदि तिमीहरूले व्यभिचार गर्दैनौ, तर हत्‍या गर्छौ भने तिमीहरूले व्यवस्थाको उल्लङ्‌घन गर्छौ ।

[12] यसकारण, स्वतन्‍त्रताको व्यवस्थाद्वारा न्‍याय हुनेहरूझैँ गरी बोल र व्यवहार गर ।

[13] किनकि कृपा नदेखाउनेहरूमाथि कृपाविना नै न्‍याय आउँदछ । कृपा न्‍यायमाथि विजयी हुन्‍छ ।

[14] मेरा भाइहरू हो, यदि कोही मानिसले उसित विश्‍वास छ भनी भन्‍दछ तर उसले कुनै काम गर्दैन भने, त्‍यसबाट के लाभ ? के त्‍यस विश्‍वासले उसलाई बचाउन सक्छ र ?

[15] विचार गर, कि कोही भाइ वा बहिनीको पहिरन राम्रो छैन र उसको निम्ति दैनिक भोजनको अभाव छ ।

[16] विचार गर, कि तिमीहरूमध्‍ये कसैले उसलाई “शान्‍तिसँग जाऊ, न्‍यानो गरी बस र पेटभरि खाऊ” भनेर भन्‍छौ । यदि तिमीहरूले शरीरलाई आवश्यक पर्ने कुराहरूचाहिँ तिनीहरूलाई दिँदैनौ भने, त्‍यसबाट के लाभ भयो र ?

[17] यसै गरी, विश्‍वासले पनि काम गर्दैन भने त्‍यो मरेतुल्य हुन्‍छ ।

[18] तर पनि कसैले यसो भन्ला, “तिमीहरूसँग विश्‍वास छ, र मसँग कामहरू छन् ।” कामविना तिमीहरूको विश्‍वास मलाई देखाऊ र मैले मेरा कामहरूद्वारा आफ्नो विश्‍वास तिमीहरूलाई देखाउनेछु ।

[19] परमेश्‍वर एउटै हुनुहुन्‍छ भनेर तिमीहरू विश्‍वास गर्दछौ; तिमीहरूले त्‍यो असल गर्दछौ । तर भूतात्माहरूले पनि विश्‍वास गर्दछन्, र तिनीहरू थरथर काम्छन् ।

[20] मूर्ख मानिस हो, के तिमी यो जान्‍न चाहन्‍छौ, कि कामविनाको विश्‍वास व्यर्थ हुन्‍छ ?

[21] जब हाम्रा पुर्खा अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के उनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र ?

[22] तिमीहरू देख्दछौ, कि उनका कामहरूसँगै विश्‍वासले कार्य गर्‍यो, र कामहरूद्वारा नै उनको विश्‍वास पूर्ण भयो ।

[23] धर्मशास्‍त्रको यस्तो भन्‍ने वचन पुरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्‍यो उनको निम्ति धार्मिकता गनियो ।” र उनि परमेश्‍वरको मित्र कहलिए ।

[24] तिमीहरू देख्दछौ, कि कामद्वारा मानिस धर्मी ठहरिन्‍छ, विश्‍वासद्वारा मात्र होइन ।

[25] त्‍यसै गरी, राहाब वेश्याले पनि गुप्‍तचरहरूलाई स्वागत गरेर अर्कै बाटोबाट पठाइदिँदा, के तिनी कामद्वारा नै धर्मी ठहरिएकी होइनन् र ?

[26] जसरी आत्मादेखि अलग हुँदा शरीर मर्दछ, त्‍यसै गरी कामबाट अलग हुँदा विश्‍वास पनि मर्दछ ।

याकूबको पत्र — Chapters