Skip to content
Opens in a new window
Listen to this chapter • 6:26

[1] अब विश्‍वासचाहिँ आशा गरिएका कुराहरूको बारेमा भएको निश्‍चयता हो; अहिलेसम्म नदेखेका घटनाहरूको बारेमा भएको प्रमाण हो ।

[2] किनकि हाम्रा पुर्खाहरू तिनीहरूको विश्‍वासका निम्ति यसरी नै प्रमाणित भएका थिए ।

[3] विश्‍वासद्वारा हामी बुझ्‍न सक्छौँ, कि सारा विश्‍व परमेश्‍वरको आज्ञाद्वारा सृष्‍टि भएको थियो । त्‍यसकारण, जे देखिन्‍छन् ती देखिने कुराहरूबाट बनाइएका होइनन् ।

[4] विश्‍वासद्वारा नै हाबिलले कयिनले भन्‍दा उत्तम बलिदान चढाए । यसकारण, तिनी धर्मी हुन पुगे । यसरी, परमेश्‍वरप्रति तिनको भेटीको कारणले गर्दा तिनले सर्मथन पाए । त्‍यसैकारण, हाबिल मरे तापनि तिनी अझ बोलिरहेका छन् ।

[5] विश्‍वासद्वारा नै हनोक माथि उठाई लगिए र तिनले मृत्‍यु देखेनन् । “तिनी भेटिएनन्, किनकि परमेश्‍वरले तिनलाई उठाउनुभयो ।” कारण तिनी उठाइनु भन्‍दाअघि तिनले परमेश्‍वरलाई प्रसन्‍न पारेको प्रमाणित भएको थियो ।

[6] विनाविश्‍वास परमेश्‍वरलाई प्रसन्‍न पार्न असम्भव छ । किनकि जो परमेश्‍वरकहाँ आउँछ उसले परमेश्‍वर अस्तित्वमा हुनुहुन्‍छ भन्‍ने कुरामा विश्‍वास गर्नैपर्छ र उहाँलाई जसले खोज्छ त्‍यसले इनाम पाउनेछ भनी विश्‍वास गर्नुपर्छ ।

[7] विश्‍वासद्वारा नै नोआलाई अहिलेसम्म नदेखेका कुराहरूका बारेमा ईश्‍वरीय सन्‍देश दिइएको थियो । तिनले भक्तिमय सम्मानसाथ एउटा पानी जहाज बनाए र आफ्नो घरानालाई बचाए । यसो गरेर तिनले संसारलाई दोषी ठहराए र विश्‍वासअनुसार तिनी धार्मिकताका उत्तराधिकारी भए ।

[8] अब्राहामलाई बोलाइँदा विश्‍वासद्वारा नै तिनले आज्ञापालन गरे र तिनी उत्तराधिकारको रूपमा पाउनुपर्ने ठाउँतिर गए । आफू कहाँ जाँदै छु भन्‍ने कुरा थाहै नपाए तापनि तिनी गए ।

[9] तिनी विश्‍वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे । तिनी पालहरूमा इसहाक र याकूबसँगै उही प्रतिज्ञाको सङ्‌गी उत्तराधिकारीको रूपमा बसे ।

[10] किनकि तिनले जगहरू भएको सहरलाई हेरिरहेका थिए, जुन सहरको रचनाकार र निर्माणकर्ता परमेश्‍वर स्वयम्‌ हुनुहुन्‍छ ।

[11] सारा बाँझी भए तापनि अब्राहामले गर्भधारण गराउने शक्‍ति विश्‍वासद्वारा नै प्राप्‍त गरे । तिनी एकदमै वृद्ध भइसक्दा यसो भएको थियो । तिनीहरूलाई प्रतिज्ञा दिनुहुनेप्रति तिनीहरू विश्‍वासयोग्य भइरहे ।

[12] त्‍यसैकारण, मरेतुल्य यिनै एक जना मानिसबाट आकाशका असङ्ख्य तारा र समुद्री किनारका असङ्ख्य बालुवासरह सन्‍तानहरू जन्‍मिए, जसलाई गन्‍नै सकिँदैन ।

[13] यी सबै प्रतिज्ञालाई प्राप्‍त नगरिकनै यिनीहरू सबैले टाढैबाट स्वागत गरे । पृथ्वीमा परदेशी र निर्वासितहरू मात्र हौँ भन्‍ने कुरा स्वीकार गर्दै तिनीहरू विश्‍वासमा नै मरे ।

[14] किनकि जसले यस्ता कुराहरू भन्‍दछन् तिनीहरूले एउटा स्वदेश खोजिरहेका छन् भन्‍ने कुरा स्पष्‍ट हुन्‍छ ।

[15] साँच्‍चै नै तिनीहरूले आफू निस्केर गएको देशका लागि सोचिरहेका भए, तिनीहरूले फर्केर जाने मौका पाउने थिए ।

[16] तर तिनीहरू अझ उत्तम देश अर्थात् स्वर्गीय देशको चाहना गर्दछन् । त्‍यसकारण, परमेश्‍वर तिनीहरूका परमेश्‍वर हुन लजाउनुहुन्‍न, किनकि उहाँले तिनीहरूका लागि एउटा सहर तयार पार्नुभएको छ ।

[17] आफ्नो जाँच हुँदा विश्‍वासद्वारा नै अब्राहामले इसहाकलाई बलि चढाए, जो उनको एक मात्र छोरा थिए जसलाई उनले बलिदान चढाए । उनले नै प्रतिज्ञाहरू प्राप्‍त गरेका थिए ।

[18] यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्‍तानको नाउँ रहनेछ ।”

[19] परमेश्‍वरले इसहाकलाई मृत्‍युबाट जीवित पार्न सक्‍नुहुने थियो भन्‍ने कुरा अब्राहामलाई थाहा थियो, र साङ्‌केतिक अर्थमा भन्‍नुपर्दा उनले तिनिहरूबाट आफ्ना छोरालाई फिर्ता पाएका थिए ।

[20] आउन लागेका थोकहरूको बारेमा इसहाकले विश्‍वासद्वारा नै याकूब र एसावलाई आशिष्‌ दिए ।

[21] याकूब मर्नै लागेका बेलामा विश्‍वासद्वारा नै उनले योसेफका हरेक छोरालाई आशिष्‌‌ दिए । लौरोको टुप्‍पोमा अडेस लागेर याकूबले आराधना गरे ।

[22] योसेफको अन्‍त्‍य नजिकिँदा विश्‍वासद्वारा नै तिनले मिश्रबाट इस्राएलीहरू प्रस्थान हुने विषयमा बोलेका थिए र तिनका अस्थिहरूको बारेमा तिनीहरूलाई आदेश दिएका थिए ।

[23] मोशा जन्‍मँदा तिनी सुन्‍दर भएको कारणले गर्दा उनका आमाबुबाले विश्‍वासद्वारा नै तिनलाई तिन महिनासम्म लुकाएर राखे र तिनीहरू राजाको आदेशसित डराएनन् ।

[24] मोशा हुर्केपछि विश्‍वासद्वारा नै तिनले फारोकी छोरीको छोरा कहलाइनलाई इन्कार गरे ।

[25] त्‍यसको सट्टामा, तिनले पापको क्षणिक सुख भोग्‍नु भन्‍दा बरु परमेश्‍वरका मानिसहरूसँगै दुःख भोग्‍ने कुरालाई छाने ।

[26] मिश्रको सम्‍पत्तिमा भन्‍दा ख्रीष्‍टलाई पछ्याउँदा सहनुपर्ने अपमानलाई नै उनले बहुमूल्यको ठाने । कारण उनले आफ्ना आँखालाई इनाममाथि केन्‍द्रित गराएका थिए ।

[27] विश्‍वासद्वारा नै मोशाले मिश्र देश छोडे । उनी राजाको क्रोधदेखि डराएनन्, किनकि एक जो अदृश्यलाई देखे जस्‍तै गरी उनले सही रहे ।

[28] त्‍यसकारण, नाश गर्नेले इस्राएलीहरूका पहिले जन्‍मिएका जेठा छोराहरूलाई छुन नसकोस् भनी विश्‍वासद्वारा नै उनले निस्तार-चाड र रगतको छिट्काउको पालन गरे ।

[29] विश्‍वासद्वारा नै उनले सुख्खा जमिनमा हिँडे जस्‍तै गरी लाल समुद्र पार गरे । जब मिश्रीहरूले पनि यसै गर्न खोजे, तब तिनीहरू डुबे ।

[30] तिनीहरूले सात दिनसम्म यरीहो पर्खालको वरिपरि घुमेपछि विश्‍वासद्वारा नै यो ढल्यो ।

[31] राहाब वेश्याले विश्‍वासद्वारा नै जासुसहरूलाई शान्‍तिसाथ सत्कार गरेकीले हुनाले तिनी अनाज्ञाकारीहरूसँगै नष्‍ट भइनन् ।

[32] अनि यो भन्‍दा बढी म के भनौँ ? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दाऊद, शमूएल र अगमवक्‍ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्दैन ।

[33] विश्‍वासद्वारा नै तिनीहरूले राज्‍यहरूलाई जिते; न्‍यायपूर्ण काम गरे; र प्रतिज्ञाहरू प्राप्‍त गरे । तिनीहरूले सिंहहरूको मुखलाई बन्‍द गरिदिए ।

[34] तिनीहरूले आगोको ज्वालालाई निभाए; तरवारको धारबाट भागे; रोगहरूबाट निको पारिए; युद्धमा शक्‍तिशाली भए; र विदेशी सेनाहरूलाई भगाए ।

[35] स्‍त्रीहरूले आफ्ना मरेकाहरूलाई पुनरुत्थानद्वारा प्राप्‍त गरे । अरूले अझ उत्तम पुनरुत्थान प्राप्‍त गर्नलाई तिनीहरूले छुटकारालाई स्वीकार गरेनन् । त्‍यसैले, तिनीहरूले दण्ड भोगे ।

[36] अरूहरूले निन्‍दा, कोर्रा, साङ्‌ला र कैदजस्ता आदि कुराहरू सहे ।

[37] तिनीहरूलाई ढुङ्‌गाले हानियो । तिनीहरूलाई दुई भाग हुने गरी चिरियो । तिनीहरूलाई तरवारले मारियो । तिनीहरूले भेडा र बाख्राको छाला लगाएर हिँड्‌डुल गर्नुपर्‍यो र विभिन्‍न किसिमका दुःख, निर्दयता र अमानवीय कुराहरू सहनुपर्‍यो ।

[38] यो संसार तिनीहरूका लागि योग्य थिएन । तिनीहरू मरुभूमि, पहाड, गुफा र जमिनका ओडारहरूतिर तितर-बितर हुनुपर्‍यो ।

[39] यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्‍वासको कारण परमेश्‍वरद्वारा प्रमाणित भए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्‍त गर्न सकेनन् ।

[40] हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्‍वरले हाम्रा लागि अझ उत्तम कुरा अघिबाटै योजना गरिदिनुभएको थियो ।

हिब्रूहरूका निम्ति पत्र — Chapters