Skip to content
Opens in a new window
Listen to this chapter • 3:48

[1] त्‍यसकारण सबै दुष्‍ट्‌याइँ, छल, पाखण्डीपन, डाहा र बदख्वाइँलाई टाढै राख ।

[2] नवजात शिशुहरूले जस्‍तै शुद्ध आत्मिक दूधको तृष्णा गर ताकि तिमीहरू त्‍यसबाट मुक्तिमा बढ्न सक,

[3] यदि प्रभु भला हुनुहुन्‍छ भनी तिमीहरूले चाखेका छौ भने,

[4] उहाँमा आओ, जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्‍छ, तर त्‍यही पत्थर नै परमेश्‍वरबाट चुनिएको छ र उहाँका निम्ति बहुमूल्य पत्थर हुनुभएको छ ।

[5] तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पूजाहारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरू जस्‍तै हौ ।

[6] धर्मशास्‍त्रले भन्‍दछ, “हेर म सियोनमा एउटा कुने-ढुङ्‌गो बसाल्नेछु, जुन मुख्य, चुनिएको र बहुमूल्य हुनेछ । जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो शर्ममा पर्नेछैन ।”

[7] त्‍यसैले, तिमीहरू जसले विश्‍वास गर्छौ तिमीहरूको निम्ति आदर छ । तर, “त्‍यो ढुङ्‌गो जसलाई निर्माणकर्ताहरूले इन्कार गरे त्‍यो नै कुनाको शिर-ढुङ्‌गा भयो ।”

[8] र “एउटा ठक्‍कर लाग्‍ने ढुङ्‌गा र एउटा ठक्‍कर लाग्‍ने चट्टान ।” वचन उल्लङ्‌घन गरेको कारण तिनीहरू ठक्‍कर खान्‍छन् जसको निम्ति तिनीहरू नियुक्त गरिएका थिए ।

[9] तर तिमीहरू त चुनिएका वंश, राजकीय पूजाहारीहरू, पवित्र जाति, परमेश्‍वरका निजी प्रजा हौ । त्‍यसैले, तिमीहरूलाई अन्धकारबाट बोलाई उहाँको उदेकको ज्‍योतिमा ल्याउनुहुनेका आश्‍चर्यकर्महरूको घोषणा गर्न सक ।

[10] तिमीहरू एक समय परमेश्‍वरका थिएनौ, तर अब परमेश्‍वरका प्रजाहरू हौ । तिमीहरूले कृपा पाएका थिएनौ, अहिले परमेश्‍वरको कृपा पाएका छौ ।

[11] हेर, तिमीहरूका आत्माको विरुद्धमा लडाइँ गर्ने पापमय इच्‍छाबाट टाढा रहनको निम्ति परदेशीहरू र प्रवासीहरूलाई झैँ म तिमीहरूलाई बोलाउँछु ।

[12] अरू जातिहरूका बीचमा तिमीहरूको व्यवहार असल होस् ताकि तिमीहरूले दुष्‍ट काम गरेका छौ भनेर तिनीहरूले भने तापनि तिमीहरूका राम्रा कामहरू देखेर तिनीहरूले उहाँको आगमनमा परमेश्‍वरको प्रशंसा गरून् ।

[13] प्रभुको खातिर सबै मानवीय अधिकारलाई स्वीकार गर चाहे ती सर्वोच्‍च राजा हुन्,

[14] या शासकहरू जो नराम्रो काम गर्नेहरूलाई सजाय दिन र असल काम गर्नेहरूको प्रशंसा गर्न उत्साह दिन पठाइएका हुन् ।

[15] किनकि परमेश्‍वरको इच्‍छा यही हो कि असल काम गरेर तिमीहरूले मूर्ख मानिसहरूका अज्ञानतालाई चुप लगाउनुपर्छ ।

[16] स्वतन्‍त्र मानिसहरूझैँ तिमीहरूको स्वतन्‍त्रता दुष्‍टतालाई ढाक्‍नको निम्ति प्रयोग नगर, तर परमेश्‍वरका दासहरू जस्‍तै बन ।

[17] सबै मानिसको आदर गर । भातृत्वलाई प्रेम गर । परमेश्‍वरको भय मान । राजाको आदर गर ।

[18] कमारा हो, सम्पूर्ण आदरसाथ आफ्नो मालिकको अधीनमा बस; असल र भला मालिकहरूसँग मात्र होइन, तर दुष्‍टहरूसँग पनि ।

[19] किनकि कोही व्यक्‍तिको विवेक परमेश्‍वरप्रति भएको कारण उसले असल काम गरे पनि कष्‍ट सहन्‍छ भने त्‍यो परमेश्‍वरमा प्रशंसनीय कुरो हो ।

[20] यदि तिमीले पाप गरेर सहन्‍छौ भने त्‍यो कुन ठुलो कुरा भयो र ? तर यदि तिमीले असल गरेर पनि सहन्‍छौ भने त्‍यो परमेश्‍वरमा प्रशंसनीय हुनेछ ।

[21] यसैको निम्ति तिमीहरू बोलाइएका थियौ, किनकि तिमीहरूले उहाँका पाइला पछ्याओ भनेर ख्रीष्‍टले पनि दुःख भोग्‍नुभयो र तिमीहरूका निम्ति उदाहरण छोड्नुभयो ।

[22] उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो ।

[23] उहाँको अपमान हुँदा उहाँले त्‍यसको बदला लिनुभएन । उहाँले दुःख भोग्‍नुहुँदा पनि आफैँलाई उचित न्‍याय गर्नुहुनेकहाँ सुम्पिनुभयो ।

[24] हामी पापको भागीदार नबनौँ र धार्मिकताको खातिर जिऔँ भनेर उहाँले हाम्रा सबै पाप आफ्नो शरीरमा बोकी क्रुसमा चढ्नुभयो । उहाँका चोटले तिमीहरू निको भएका छौ ।

[25] तिमीहरू सबै हराएका भेडाझैँ भौतारिँदै थियौ, तर अब तिमीहरू आत्माका गोठालो र संरक्षककहाँ फर्किएका छौ ।

पत्रुसको पाहिलो पत्र — Chapters