Skip to content
Opens in a new window
Listen to this chapter • 2:47

[1] शासकहरू तथा अख्तियारवालाहरूको अधीनमा बस्‍नू; आज्ञाकारी हुनू, जे असल छ, सो गर्नू भनी तिनीहरूलाई सम्झना गराउनू।

[2] तिनीहरूले कसैको बदनामी नगरून्, मिलापमा रहून्, विचारशील होऊन् र सधैँ सबै मानिसहरूप्रति नम्रता देखाऊन्।

[3] कुनै समय हामी पनि मूर्ख, अनाज्ञाकारी, सबै किसिमका अभिलाषा र सुख-विलासद्वारा ठगिएका र सेवक बनाइएका थियौँ। हामी द्वेष र डाहमा जिउने, घृणा गरिएका र एक-अर्कालाई घृणा गर्नेहरू थियौँ।

[4] तर जब हाम्रा मुक्तिदाता परमेश्‍वरको दया र प्रेम देखा पर्‍यो,

[5] तब उहाँले आफ्ना कृपाको कारण हामीलाई बचाउनुभयो; हामीले गरेका असल कामहरूको कारणले होइन। उहाँले हामीलाई पुनरुत्थानको स्‍नान र पवित्र आत्माको नवीकरणद्वारा बचाउनुभयो,

[6] जुन आत्मालाई उहाँले हाम्रा मुक्तिदाता येशू ख्रीष्‍टद्वारा हामीमा प्रशस्त गरी खन्याउनुभयो।

[7] उहाँको अनुग्रहद्वारा हामीलाई धर्मी ठहराउनुभयो र अनन्त जीवनको उत्तराधिकारी हुनेछौँ भन्‍ने आशा दिनुभयो।

[8] यो भनाइ विश्‍वासयोग्य छ। तिमीले यी कुराहरूमा जोड दिएको म चाहन्छु, जसले परमेश्‍वरमा भरोसा राखेका छन्, तिनीहरूले जे असल छ, सो गर्नमा आफूलाई लगाऊन्। यी कुराहरू हरेकको लागि अति उत्तम र लाभदायक छन्।

[9] तर मूर्खतापूर्ण विवादहरू, वंशावलीहरूका महानताको बारेमा कुरा गर्न, व्यवस्थाबारे तर्कवितर्क गर्न र झगडाहरूबाट अलग बस; किनकि यी बेफाइदा र व्यर्थका हुन्।

[10] विभाजन ल्याउने व्यक्तिहरूलाई दुई पटकसम्म चेतावनी देऊ; त्यसपछि तिनीहरूसित तिमीहरूको कुनै सम्बन्ध नहोस्।

[11] तिमीलाई यो थाहै छ, यस्ता मानिसहरू पापमा लागेका हुन्छन्; अनि तिनीहरूका आफ्नै पापले तिनीहरूलाई दोषी ठहराउँछ।

[12] जब मैले अर्तिमास अथवा तुखिकसलाई तिमीकहाँ पठाउँछु, तब तिमी मकहाँ निकोपोलिसमा आउन सकभर प्रयास गर; किनकि मैले त्यहाँ हिउँद कटाउने निर्णय गरेको छु।

[13] कानुनविद् जेनास र अपोल्‍लोसलाई यात्रामा सहायता दिनलाई भरमग्दूर प्रयत्न गर; ताकि तिनीहरूलाई आवश्यक पर्ने हरेक थोक प्राप्‍त होस्।

[14] जे असल छ, हाम्रा मानिसहरूले त्यो गर्न सिकून्, ताकि नभई नहुने खाँचोहरूका लागि तिनीहरूले मदत दिन सकून्; अनि तिनीहरूका जीवन निष्फल नहोस्।

[15] मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन्। हामीलाई विश्‍वासमा प्रेम गर्ने सबैलाई हाम्रो अभिवादन भनिदेऊ। तिमीहरू सबैसँग अनुग्रह रहोस्!

तीतस — Chapters