Skip to content
Opens in a new window
Listen to this chapter • 5:21

[1] ख्रीष्‍ट येशूका सेवकहरू पावल र तिमोथीबाट, ख्रीष्‍ट येशूमा भएका फिलिप्पीका पवित्र जनहरू साथै मण्डलीका अध्यक्षहरू र मण्डलीका सेवकहरू सबैलाई:

[2] हाम्रा परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति!

[3] जब तिमीहरूलाई म याद गर्छु, म मेरा परमेश्‍वरलाई सधैँ धन्यवाद चढाउँछु।

[4] मेरो हरेक प्रार्थनामा तिमीहरू सबैका निम्ति म सधैँ आनन्दसाथ प्रार्थना गर्दछु।

[5] किनकि सुसमाचारको काममा सुरुदेखि अहिलेसम्म नै तिमीहरूको सहभागिता रहेको छ।

[6] यो कुरामा दृढ भरोसा छ, जसले तिमीहरूमा एउटा असल काम सुरु गर्नुभएको छ, उहाँले नै ख्रीष्‍ट येशूको पुनरागमनसम्म त्यो काम पूरा गर्नुहुनेछ।

[7] तिमीहरू सबैका विषयमा यस्तो महसुस गर्नु मेरो लागि उचित छ; किनकि मैले मेरो हृदयमा तिमीहरूलाई राखेको छु; त्यसैले चाहे म कैदमा रहँदा होस् वा सुसमाचारको समर्थन र प्रतिरक्षा गर्दा होस्, यसमा मसँगै तिमीहरू सबै परमेश्‍वरको अनुग्रहमा सहभागी भएका छौ।

[8] परमेश्‍वर साक्षी हुनुहुन्छ, कि ख्रीष्‍ट येशूको प्रेमले तिमीहरू सबैको कति धेरै म तिर्सना गर्दछु।

[9] मेरो प्रार्थना यही छ: ज्ञान र अन्तर्दृष्‍टिको गहिराइमा तिमीहरूको प्रेम झन्-झन् प्रशस्त हुँदै जाओस्।

[10] यस उद्देश्यले कि तिमीहरूले जे उत्तम छ, त्यो छुट्याउन सक; ताकि ख्रीष्‍टको पुनरागमनमा तिमीहरू शुद्ध र दोषरहित रहन सक।

[11] अनि परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताका फलले तिमीहरू भरिपूर्ण हुन सक।

[12] दाजुभाइ-दिदीबहिनीहरू हो, अहिले ममाथि आइलागेका कुराहरूले वास्तवमा सुसमाचारलाई विस्तार गर्ने काम गरेको छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु।

[13] परिणाम स्वरूप सारा दरबारका पहरेदारहरू र बाँकी सबै मानिसहरूकहाँ म ख्रीष्‍टको निम्ति कैदमा रहेको हुँ भनी छर्लङ्ग भएको छ।

[14] अनि मेरो कैदको कारणले गर्दा प्रभुमा धेरै विश्‍वासीहरू साहसी भएका छन्, र निडरतासाथ सुसमाचार प्रचार गर्न धेरै उत्साहित भएका छन्।

[15] यो सत्य हो, कतिले डाह र प्रतिस्पर्धाका कारण ख्रीष्‍टलाई प्रचार गर्दछन्, तर अरूहरूले चाहिँ स्वच्छ मनसायले गर्दछन्।

[16] म सुसमाचारको सुरक्षाका निम्ति कैदमा परेको छु भनी जानेर स्वच्छ मनसायले प्रचार गर्नेहरूले यो काम प्रेमका लागि गर्दछन्।

[17] डाह र प्रतिस्पर्धाले प्रचार गर्नेहरूले स्वार्थी उद्देश्यले बेइमानीका साथ ख्रीष्‍टको प्रचार गरे; ताकि म कैदमा रहेको बेला तिनीहरूले मलाई अझ धेरै समस्या खडा गर्न सकून्।

[18] तर के भयो त? महत्त्वपूर्ण कुरा यही नै हो, चाहे खराब मनसायले होस् वा सत्यतामा होस्, जुनसुकै तरिकाले भए तापनि ख्रीष्‍ट नै प्रचारिनुहुन्छ। यसैकारणले म आनन्दित हुन्छु। हो, म निरन्तर आनन्दित हुनेछु।

[19] किनकि तिमीहरूका प्रार्थना र येशू ख्रीष्‍टको आत्माले दिनुहुने सहायताद्वारा ममाथि आइलागेका कुराहरू मेरै छुटकाराको निम्ति हुनेछ भनी म जान्दछु।

[20] म उत्कट इच्छा र आशा गर्दछु, म कदापि शर्ममा पर्नेछैनँ; तर मसँग प्रशस्त साहस हुनेछ, ताकि चाहे जीवनद्वारा होस् वा मृत्युद्वारा, सदाझैँ मेरो शरीरमा ख्रीष्‍ट उच्‍च पारिनुहुनेछ।

[21] किनकि मेरो निम्ति जिउनु ख्रीष्‍ट हो र मर्नुचाहिँ लाभ हो।

[22] यदि म शरीरमा नै जिइरहनुपर्ने हो भने यसको अर्थ मेरो निम्ति फलदायी परिश्रम हुनेछ। तापनि मैले के रोज्ने त? सो म जान्दिनँ!

[23] म दुवैबाट दबाबमा परेको छु: बिदा भएर ख्रीष्‍टको साथमा हुने इच्छा गर्दछु; किनकि यो धेरै नै असल छ।

[24] तर म शरीरमा नै रहिरहनुचाहिँ तिमीहरूका निम्ति अझ बढी आवश्यक छ।

[25] म निश्‍चित भएको छु; यसकारण तिमीहरू सबैको उन्‍नति र विश्‍वासको आनन्दका निम्ति म सबैसँग जीवित रहिरहनेछु भनी म जान्दछु;

[26] यसकारण म फेरि तिमीहरूकहाँ आउँदा मेरो कारण तिमीहरूलाई ख्रीष्‍ट येशूमा गर्व गर्ने प्रशस्त कारण होस्।

[27] जेसुकै आइपरे तापनि तिमीहरूका चालचलन ख्रीष्‍टको सुसमाचारको योग्य होस्। तब चाहे म आएर तिमीहरूलाई देखूँ, अथवा अनुपस्थित रहेर तिमीहरूका बारेमा सुनूँ, म यही कुरा थाहा पाउन चाहन्छु, कि तिमीहरू एउटै आत्मामा दृढ भई खडा छौ, र सुसमाचारको विश्‍वासको निम्ति एउटै मनका भई मिलेर परिश्रम गर्दछौ।

[28] तिमीहरू विरोधीहरूसँग कुनै किसिमले डराउनु हुँदैन। यो तिनीहरूका निम्ति एउटा चिन्ह हो, कि तिनीहरू नाश हुनेछन्, तर तिमीहरूको चाहिँ उद्धार हुनेछ—यो परमेश्‍वरबाटको चिन्ह हो।

[29] किनकि ख्रीष्‍टको निम्ति तिमीहरूलाई यो दिइएको छ, कि उहाँमाथि विश्‍वास गर्ने मात्र होइन, तर उहाँको निम्ति कष्‍ट पनि भोग्नुपर्छ।

[30] किनकि तिमीहरू पनि त्यही सङ्घर्षमा छौ, जुन सङ्घर्ष तिमीहरूले ममा देख्यौ र त्यो अझै पनि ममा छँदैछ भनी अहिले सुनेका छौ।

फिलिप्पी — Chapters