Skip to content
Opens in a new window
Listen to this chapter • 3:42

[1] याहवेहले के भन्‍नुहुन्छ, ध्यानसँग सुन: “खडा होओ, पर्वतहरूका सामु मेरो मुद्दा पेश गर; तिमीहरूले के भन्छौ, ती कुराहरू पहाड र पर्वतहरूले सुनून्।

[2] “हे पर्वतहरू हो, याहवेहको अभियोग सुन, हे पृथ्वीका अनन्तसम्म रहने जगहरू हो, ध्यान देओ। किनकि याहवेहका मानिसहरूका विरुद्धमा उहाँको एउटा मुद्दा छ; उहाँले इस्राएलका विरुद्धमा अभियोग लगाउँदैहुनुहुन्छ।

[3] “हे मेरा मानिसहरू हो, मैले तिमीहरूलाई के गरेको छु? कसरी मैले तिमीहरूलाई बोझ बोकाएको छु? मलाई जवाफ देओ।

[4] मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ, र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटाएँ। तिमीहरूलाई अगुवाइ गर्नका निम्ति मैले मोशा, हारून र मिरियमलाई पनि पठाएँ।

[5] हे मेरा मानिसहरू हो, मोआबको राजा बालाकले कस्तो युक्ति रचेको थियो, र बओरको छोरा बालामले बालाकलाई कस्तो जवाफ दिएको थियो। शित्तीमदेखि गिलगालसम्मको यात्रालाई याद गर, ताकि तिमीहरूले याहवेहका धार्मिक कामहरूलाई बुझ्न सक।”

[6] म के लिएर याहवेहको सामु आऊँ र सर्वोच्‍च परमेश्‍वरको सामु दण्डवत् गरूँ? के एक बर्से बाछाहरू लिएर होमबलि चढाउनलाई म उहाँको सामु आऊँ?

[7] के याहवेह हजारौँ भेडाहरू, जैतुन तेलको दश हजार खोलाहरूसँग प्रसन्‍न हुनुहुन्छ र? के म मेरो पापको निम्ति मेरो आफ्नै जेठो सन्तानलाई चढाऊँ? मेरो आत्माको पापको निम्ति मेरो आफ्नै शरीरको फललाई चढाऊँ?

[8] हे मानव-जाति, जे असल छ, त्यो उहाँले देखाउनुभएको छ। अनि याहवेहले तँबाट के चाहनुहुन्छ? केवल यति मात्र, न्यायपूर्वक काम गर्नू र दयालाई प्रेम गर्नू; अनि नम्र भएर आफ्ना परमेश्‍वरसित हिँड्नू।

[9] सुन! याहवेहले सहरलाई बोलाउँदैहुनुहुन्छ— र तपाईंको नामको भय मान्‍नु बुद्धि हो, अर्थात् “डण्डा र यसलाई नियुक्त गर्नेलाई ध्यान देओ।

[10] हे दुष्‍ट घराना, तैँले दुष्‍ट तरिकाले कमाएको धन र नापतौलमा छल गरेर कमाएको धनचाहिँ श्रापित छ, के म अझै बिर्सूं?

[11] के छलको ढक चलाउने र झूटा तराजुहरू राख्ने मानिसलाई म निर्दोष मानेर छोडिदिऊँ?

[12] तेरा धनी मानिसहरू हिंसाले भरिएका छन्; तेरा मानिसहरू झूट बोल्छन् र तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्।

[13] यसकारण तेरा पापहरूको कारण, तँलाई उजाड पार्न मैले सर्वनाश सुरु गरेको छु।

[14] तिमीहरूले खानेछौ, तर तृप्‍त हुनेछैनौ; तिमीहरूको पेट अझै भोकै रहनेछ। तिमीहरूले भण्डारण त गर्नेछौ, तर केही पनि बचाउन सक्नेछैनौ; किनकि तिमीहरूले जे बचत गर्छौ, म त्यो तरवारलाई दिनेछु।

[15] तिमीहरू रोप्नेछौ, तर कटनी गर्नेछैनौँ; तिमीहरूले जैतुनहरू पेल्नेछौ, तर तेल प्रयोग गर्नेछैनौँ; तिमीहरू दाख पेल्नेछौ, तर दाखमद्य पिउनेछैनौँ।

[16] तिमीहरूले ओम्रीका नियमहरू र आहाबका घरानाका सबै विधिहरू पालन गरेका छौ; तिमीहरूले तिनीहरूका परम्पराहरूलाई पछ्याएका छौ। यसकारण म तिमीहरूलाई नाश गर्नलाई दिनेछु, र तिमीहरूका मानिसहरूलाई गिल्‍लाको निम्ति दिनेछु; तिमीहरूले राष्ट्रहरूको अपमान सहनेछौ।”

मीका — Chapters