Skip to content
Opens in a new window
Listen to this chapter • 3:44

[1] याहवेहको यो वचन अमित्तैका छोरो योनाकहाँ आयो:

[2] “त्यो ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा प्रचार गर्; किनकि त्यसको दुष्‍टता मेरो सामु आइपुगेको छ।”

[3] तर योना याहवेहदेखि भाग्न विपरीत दिशा तर्शीशतिर लागे। तिनी तल जोप्पा सहरमा गए, जहाँ तिनले तर्शीशतिर जाने एउटा जहाज भेट्टाए। जहाजको भाडा तिरे, र याहवेहदेखि भाग्न तिनी जहाजमा चढेर तर्शीशतिर लागे।

[4] तब याहवेहले समुद्रमा एउटा ठूलो बतास चलाइदिनुभयो; अनि यति भयानक आँधी चल्यो, कि त्यस प्रचण्ड आँधीको कारण जहाज नष्‍ट होलाझैँ भयो।

[5] तब सबै नाविकहरू डराए, र हरेकले आ-आफ्ना देवतालाई पुकार्न थाले। अनि तिनीहरूले जहाजलाई हलुङ्गो पार्न व्यापारका सरसामानहरू समुद्रमा फालिदिए। तर योनाचाहिँ जहाजको तल्‍लो तलामा गएका थिए, जहाँ तिनी ढल्के, र तिनी मस्त निद्रामा परे।

[6] जहाजको कप्‍तान तिनीकहाँ गएर भने, “तिमी कसरी सुत्न सकिरहेका छौ? उठ, आफ्ना ईश्‍वरलाई पुकार! सायद उहाँले हाम्रो ख्याल राख्नुहुनेछ, र हामी नष्‍ट हुनेछैनौँ।”

[7] तब नाविकहरूले एक-अर्कालाई भने, “आउनुहोस्, हामी चिट्ठा हालौँ र यस विपत्तिको जिम्मेवार कोचाहिँ रहेछ भनेर पत्ता लगाऔँ।” तब तिनीहरूले चिट्ठा हाले, र त्यो चिट्ठा योनाको नाममा पर्‍यो।

[8] त्यसपछि तिनीहरूले तिनलाई सोधे, “हामीलाई भन, हामीमाथि आएका यी सबै विपत्तिको जिम्मेवार को हो? तिमी के काम गर्छौ? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? तिमी कुन जातिका हौ?”

[9] तिनले जवाफ दिए, “म एक हिब्रू हुँ, र याहवेह स्वर्गका परमेश्‍वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।”

[10] यस कुराले तिनीहरू धेरै भयभीत भए, र तिनीहरूले तिनलाई सोधे, “तिमीले किन यसो गर्‍यौ?” (तिनले अगि नै यो कुरा भनिसकेको हुनाले तिनी याहवेहदेखि भागिरहेका छन् भन्‍ने कुरा तिनीहरूले थाहा पाए।)

[11] समुद्रका छालहरूले झन्-झन् भयानक रूप लिँदैथिए। यसकारण तिनीहरूले तिनलाई सोधे, “यस समुद्रलाई शान्त बनाउनका निम्ति हामीले तिमीलाई के गरौँ त?”

[12] तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फ्याँकिदिनुहोस्! तब यो प्रचण्ड आँधी शान्त हुनेछ। म जान्दछु, यो ठूलो आँधी मेरो दोषको कारणले तपाईंहरूमाथि आएको हो।”

[13] तरै पनि मानिसहरूले जहाजलाई किनारसम्म पुर्‍याउनलाई सकेसम्म धेरै कोसिस गरे, तर तिनीहरूले सकेनन्; किनकि समुद्र झन्-झन् उग्र हुँदैथियो।

[14] त्यसपछि तिनीहरूले याहवेहलाई पुकारे, “हे याहवेह, यो मानिसको प्राणको कारण दया गरी हामीलाई नष्‍ट हुन नदिनुहोस्। एक निर्दोष मानिसको हत्याको निम्ति हामीलाई जिम्मेवार नठहराउनुहोस्; किनकि हे याहवेह, तपाईंलाई जस्तो उचित लाग्यो, त्यही गर्नुभएको छ।”

[15] त्यसपछि तिनीहरूले योनालाई उचालेर जहाजबाट समुद्रमा फालिदिए, तब उर्लिएर आएको समुद्र शान्त भयो।

[16] यो कुरा देखेर मानिसहरू याहवेहसित साह्रै डराए, र तिनीहरूले याहवेहलाई बलिदान चढाए र उहाँलाई भाकल गरे।

[17] तब याहवेहले योनालाई निल्नलाई एउटा विशाल माछालाई पठाउनुभयो; अनि योना माछाको पेटभित्र तीन दिन र तीन रातसम्म रहिरहे।

योना — Chapters