[1] म आफ्नो पहारा दिने धरहरामा उभिरहनेछु, र म आफैँ पर्खालमा खडा रहनेछु; उहाँले मलाई के भन्नुहुन्छ, म हेर्नेछु; अनि मेरो गुनासोको बारेमा मैले उहाँलाई कस्तो जवाफ दिनुपर्ने हो, सो म पर्खिरहनेछु।
[2] त्यसपछि याहवेहले जवाफ दिनुभयो: “यो दर्शन लेख्, र स्पष्टसँग पाटीमा लेख्, ताकि समाचारवाहक यसलाई लिएर दगुरोस्।
[3] किनकि यो दर्शन तोकिएको समयको प्रतीक्षामा छ; यसले अन्त्यको समयको बारेमा बताउँछ, र यो दर्शन झूटो ठहरिनेछैन। त्यो पूरा हुन केही ढिलो भए तापनि यसका निम्ति पर्खेर बस्; त्यो निश्चय नै पूरा हुनेछ, र ढिलो हुनेछैन।
[4] “हेर्, शत्रु घमण्डले फुलेको छ; त्यसका हृदयका इच्छाहरू सही छैनन्। तर धर्मी जनचाहिँ आफ्नो विश्वासद्वारा नै जिउनेछ।
[5] वास्तवमा त्यसलाई दाखमद्यले धोका दिन्छ; त्यो अहङ्कारी छ, र त्यो कहिल्यै शान्तिसँग बस्दैन। किनकि त्यो चिहानजस्तै लोभी छ, मृत्युजस्तै त्यो कहिल्यै पनि तृप्त हुँदैन। त्यसले सबै राष्ट्रहरूलाई आफूकहाँ बटुल्छ, र सबै मानिसहरूलाई कैद गर्छ।
[6] “के अब सबैले त्यसलाई गिल्ला र अवहेलना गर्दै, यसो भनेर खिसी गर्दैनन् र? “ ‘धिक्कार छ, तिनीहरूलाई, जसले चोरीको माल थुपारेर र अर्काको धन जबरजस्ती खोसेर धनी हुन्छन्! कहिलेसम्म यस्तो चल्छ र?’
[7] के तँबाट ऋण लिनेहरू एक्कासि उठ्नेछैनन् र? के तिनीहरू उठेर तँलाई थरथर काँप्ने बनाउने छैनन् र? तब तँ तिनीहरूको शिकार बन्नेछस्।
[8] किनकि तैँले धेरै राष्ट्रहरूलाई लुटेको छस्, तर अब बाँकी रहेका मानिसहरूले तँलाई लुट्नेछन्। किनकि तैँले धेरै मानिसका रगत बगाएको छस्; तैँले देश र सहरहरू र त्यहाँ भएका सबै प्राणीहरूलाई सर्वनाश गरेको छस्।
[9] “धिक्कार त्यसलाई, जसले अधर्मको काम गरेको धनद्वारा आफ्नो संसार बनाउँछ, जसले विनाशको खतराबाट बच्नलाई आफ्नो गुँड उचाइमा बनाउँछ!
[10] तैँले धेरै जातिहरूको सर्वनाश गर्नलाई षड्यन्त्र रचिस्! आफ्नो घरपरिवारलाई शर्ममा पारिस् र आफ्नो प्राणचाहिँ गुमाइस्।
[11] पर्खालका ढुङ्गाहरूले चर्को सोरमा चिच्याउनेछन्; अनि काठका दलिनहरूले त्यसको प्रतिध्वनि गर्नेछन्।
[12] “धिक्कार त्यसलाई, जसले हत्या गरेर सहरको निर्माण गर्दछ, र अन्यायद्वारा नगरको निर्माण गर्दछ!
[13] के सेनाहरूका याहवेहले यो निश्चय गरिसक्नुभएको होइन? कि मानिसहरूका मेहनत आगोमा दाउराजस्तै भस्म हुनलाई मात्र हो। त्यसैले राष्ट्रहरूले व्यर्थमा परिश्रम गरेर आफूलाई थकित तुल्याउँछन्?
[14] किनकि समुद्र पानीले भरिएझैँ, याहवेहको महिमाको ज्ञानले पृथ्वी भरिनेछ।
[15] “धिक्कार त्यसलाई, जसले आफ्ना छिमेकीहरूलाई आफ्ना छालाका मशकबाट मातिन्जेल मद्य पिउन दिन्छ, ताकि त्यसले तिनीहरूको नाङ्गो शरीर नियाल्न सकोस्!
[16] तँ महिमाको सट्टामा शर्मले ढाकिनेछस्। अब तेरो पालो आएको छ! दाखमद्य पी, र तेरो नग्नता उदाङ्गो होस्! याहवेहको दाहिने हातबाट दण्डको कचौरा तँतिर आउँदैछ; अनि तेरो महिमालाई अपमानले ढाक्नेछ।
[17] तैँले लेबनानमा गरेको हिंसाले तँलाई व्याकुल पार्नेछ; अनि तैँले गरेको पशुप्राणीको विनाशले तँलाई भयभीत तुल्याउनेछ। किनकि तैँले मानिसको रगत बगाएको छस्; तैँले देश र सहरहरू र त्यहाँ भएका सबैलाई नाश पारेको छस्।
[18] “शिल्पकारले खोपेर बनाएको मूर्तिको के मूल्य छ र? अथवा त्यो प्रतिमा, जसले झूटो कुरा सिकाउँछ? किनकि त्यसले आफ्नै हातको काममा भरोसा राख्छ; किनकि त्यसले बनाएको मूर्ति बोल्न पनि सक्दैन।
[19] धिक्कार त्यसलाई, जसले काठलाई, ‘जाग्!’ भन्छ, अथवा निर्जीव ढुङ्गालाई, ‘उठ्!’ भन्छ। के त्यसले तिमीहरूलाई मार्गनिर्देशन गर्न सक्छ? त्यो सुन र चाँदीले मोहोरिएको छ; तर त्यसमा जीवनको सास नै छैन।”
[20] तर याहवेह आफ्नो पवित्र मन्दिरमा हुनुहुन्छ; सारा पृथ्वी उहाँको सामु चुपचाप रहोस्!