Skip to content
Opens in a new window
Listen to this chapter • 7:40

[1] अहासूरस जसले भारतदेखि कूशसम्म फैलिएको 127 वटा प्रान्तहरूमाथि शासन गर्थे, तिनको शासनकालमा घटेका घटनाहरूको विवरण यही हो:

[2] त्यस बेला राजा अहासूरसले शूशनको राजधानीमा रहेको आफ्नो राजकीय सिंहासनबाट शासन गर्थे।

[3] आफ्नो शासनको तेस्रो वर्षमा तिनले आफ्ना सबै हाकिम र अधिकारीहरूका निम्ति एउटा ठूलो भोज लगाए। त्यस भोजमा परसीया र मादीका सेनाका अगुवाहरू, राजकुमारहरू र प्रान्त प्रान्तका मुख्य मानिसहरू राजाको सामु उपस्थित भए।

[4] त्यस बेला तिनले आफ्नो राज्यको विशाल समृद्धि, वैभव र तिनको गौरवको महिमा 180 दिनसम्म प्रदर्शन गरिरहे।

[5] ती दिनहरू पूरा भएपछि राजाले शूशनको राजधानीमा भएका सानादेखि ठूला सबै मानिसहरूका निम्ति राजमहलको भित्रपट्टिको बगैँचामा सात दिनसम्म भोज लगाए।

[6] त्यस बगैँचामा सिङ्गमरमरका स्तम्भहरूमा चाँदीका गोलचक्रहरूमा लगाइएका सेता मसिनो र बैजनी कपडाहरूमा गाँसिएका सेता र निलो सुती कपडाका पर्दाहरू झुन्ड्याइएका थिए। त्यहाँ रातो-स्फटिक शिला, सिङ्गमरमर, मोती र अन्य मूल्यवान् पत्थरहरूले सिँगारिएको भुइँमाथि सुन र चाँदीका बस्‍ने आसनहरू राखिएका थिए।

[7] हरेक भिन्‍नाभिन्‍नै प्रकारका सुनका कचौराहरूमा दाखमद्य टक्राइन्थे; अनि त्यहाँ राजाको उदारताअनुसार राजकीय दाखमद्य प्रशस्त मात्रामा पाइन्थ्यो।

[8] राजाको आदेशमा सबै पाहुनाहरूलाई रोकटोकविना तिनीहरूको इच्छाअनुसार पिउन दिइएको थियो; किनकि राजाले आफ्ना सबै मद्य टक्राउनेहरूलाई हरेक मानिसको इच्छाअनुसार दिनू भन्‍ने आदेश दिएका थिए।

[9] तब रानी वश्तीले पनि त्यसै समयमा राजा अहासूरसको राजमहलका स्त्रीहरूका निम्ति एउटा ठूलो भोज लगाइन्।

[10] भोजको सातौँ दिनमा, जब राजा अहासूरस दाखमद्यको कारण प्रफुल्‍लित थिए, तब तिनले आफ्नो सेवा गर्ने सात जना नपुंसकहरू: महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कसलाई बोलाए।

[11] अनि मानिसहरू र अधिकारीहरूलाई रानी वश्तीको सुन्दरता देखाउन भनी राजसी मुकुट पहिरेकी रानीलाई ल्याउने आदेश दिए; किनकि तिनी हेर्नमा सुन्दरी थिइन्।

[12] तब ती सेवकहरूले राजाको हुकुम रानीलाई सुनाए; तर रानी वश्तीले आउन अस्वीकार गरिन्। यसैले राजा अत्यन्त क्रोधित भए, र तिनी रिसले आगो भए।

[13] त्यसपछि राजाले आफ्ना बुद्धिमान् मानिसहरू, जससँग यस्तो विषयमा राम्रो ज्ञान थियो, तिनीहरूसँग कुरा गरे। राजाले यस्ता नियम र कानुनको विषयमा पोख्त भएका ज्ञानी सल्‍लाहकारहरूको सल्‍लाह लिने चलन थियो।

[14] अनि राजासित घनिष्‍ठ रहेका परसीया र मादीका सात जना मुख्य हाकिमहरू: कर्शना, शेथार, अदमाता, तर्शीश, मेरेस, मर्सेना र ममूकान, जोसँग राजाको उपस्थितिमा प्रवेश गर्ने विशेष अधिकार थियो; अनि तिनीहरूले राज्य शासनमा विशेष स्थान पाएका थिए।

[15] तिनले तिनीहरूसित सोधे, “कानुनअनुसार रानी वश्तीलाई के गरौँ? किनभने तिनले नपुंसकहरूद्वारा दिइएको राजा अहासूरसको आज्ञापालन गरिनन्।”

[16] तब राजा र हाकिमहरूको उपस्थितिमा ममूकानले जवाफ दिए, “रानी वश्तीले राजाको विरुद्ध मात्र होइन, तर राजा अहासूरसका सबै प्रान्तहरूका सबै भारदारहरू र मानिसहरूको अनादर गरेकी छिन्।

[17] किनकि रानीको व्यवहारको बारेमा सबै स्त्रीहरूले जान्‍नेछन्, र तिनीहरूले आफ्ना पतिहरूलाई तुच्छ ठानेर यसो भन्‍नेछन्, ‘राजा अहासूरसले रानी वश्तीलाई तिनको सामु उपस्थित हुन हुकुम गर्नुभएको थियो, तर तिनले अस्वीकार गरिन्।’

[18] आजको यही दिन रानीले गरेको व्यवहारको बारेमा सुन्‍ने परसीया र मादीका मुख्य घरानाका स्त्रीहरूले राजाका हाकिमहरूसित यस्तै प्रकारको व्यवहार गर्नेछन्। यसले गर्दा अनादर र अशिष्‍टताको कुनै अन्त्य हुनेछैन।

[19] “यसकारण यदि राजालाई असल लाग्छ भने उहाँद्वारा एउटा राजकीय उर्दी निकालियोस्; अनि त्यसलाई परसीया र मादीहरूको ऐन-कानुनमा लेखियोस्, जसलाई कसैले पनि रद्द गर्न नसकून्; ताकि अब उसो राजा अहासूरसको उपस्थितिमा रानी वश्ती कहिल्यै देखा पर्न पाउनेछैनन्; अनि राजाले उनको राजकीय पद तिनीभन्दा असल अरू कसैलाई देऊन्।

[20] अनि जब राजाको उर्दी उनको सारा राज्यभरि सुनाइन्छ, तब सानादेखि ठूलासम्मका सबै स्त्रीहरूले आफ्ना पतिहरूलाई आदर गर्नेछन्।”

[21] तब राजा र तिनका भारदारहरूलाई यो सल्‍लाह मन पर्‍यो। यसकारण राजाले ममूकानले राखेको प्रस्तावअनुसार गरे।

[22] राजाले हरेक मानिस आफ्नो घरको मालिक हुनुपर्छ भन्‍ने आदेश आफ्नो राज्यका सबै राजकीय प्रान्तहरूमा पठाए। अनि प्रत्येक प्रान्तमा तिनीहरूका आ-आफ्नै लिपिअनुसार र हरेक जातिका आ-आफ्नै भाषाअनुसार आज्ञा-पत्रहरू पठाए।

एस्तर — Chapters