Skip to content
Opens in a new window
Listen to this chapter • 2:36

[1] मण्डलीका प्रधानबाट, मेरा प्रिय मित्र गायस, जसलाई म सत्यतामा प्रेम गर्दछु।

[2] प्रिय मित्र, म प्रार्थना गर्दछु, जसरी तिम्रो आत्माको उन्‍नति भएको छ, त्यसरी नै तिमी स्वस्थ बस र सबै कुरामा तिमीलाई भलो होस्।

[3] केही दाजुभाइ-दिदीबहिनीहरू आएर सत्यताको विषयमा तिम्रो विश्‍वासयोग्यता र तिमी कसरी निरन्तर हिँडिरहेका छौ भन्‍ने विषयमा साक्षी दिएकोले म धेरै आनन्दित भएको छु।

[4] मेरा सन्तानहरू सत्यतामा चलिरहेका छन् भन्‍ने कुरा सुन्‍न पाउनुभन्दा ठूलो आनन्द मेरो लागि अरू केही हुँदैन।

[5] हे प्रिय मित्र, ती दाजुभाइ-दिदीबहिनीहरू तिम्रा लागि परदेशी भए तापनि तिमीले जे गर्दैछौ, त्यसमा तिमी विश्‍वासयोग्य छौ।

[6] तिनीहरूले तिम्रो प्रेमको विषयमा मण्डलीलाई साक्षी दिएका छन्। परमेश्‍वरलाई मनपर्ने रीतिले तिनीहरूलाई आफ्ना यात्रामा पठाऊ।

[7] तिनीहरू उहाँकै नामको निम्ति निस्केका हुन्, र गैरयहूदीहरूबाट कुनै सहायता लिएनन्।

[8] यसकारण सत्यताका निम्ति सँगै मिलेर काम गर्न सकौँ भन्‍नका लागि हामीले यस्ता मानिसहरूलाई सेवा सत्कार गर्नैपर्छ।

[9] मैले मण्डलीलाई केही कुरा लेखेको थिएँ, तर तिमीहरूमा ठूलो हुन खोज्ने डियोत्रिफसले हामीलाई स्वीकार गर्दैन।

[10] यसकारण म आएँ भने त्यसले गरिरहेका कामहरूबारे कुरा उठाउनेछु। त्यसले हाम्रा विरुद्धमा खराब कुराहरू बक्दै हिँड्छ। त्यतिमा पनि सन्तुष्‍ट नभएर त्यसले अरू विश्‍वासीहरूलाई स्वीकार गर्दैन र स्वीकार गर्न चाहनेहरूलाई पनि त्यसले रोक्छ, र तिनीहरूलाई मण्डलीबाट बाहिर निकालिदिन्छ।

[11] हे प्रिय मित्र, खराबीको होइन, तर असल कुराको अनुकरण गर। जसले असल कुरा गर्दछ, त्यो परमेश्‍वरबाटको हो। जसले खराबी गर्दछ, त्यसले परमेश्‍वरलाई देखेको छैन।

[12] डेमेत्रियसका विषयमा सबैले असल साक्षी दिएका छन्, र सत्यता स्वयम्‌ले पनि त्यही साक्षी दिन्छ। हामी पनि तिनको विषयमा असल बोल्छौँ, र हाम्रो साक्षी सत्य छ भनी तिमी जान्दछौ।

[13] मैले तिमीलाई लेख्नुपर्ने कुराहरू धेरै छन्, तर म कलम र मसीले ती लेख्न चाहन्‍नँ।

[14] म तिमीलाई चाँडै नै भेट्ने आशा गर्दछु, तब हामी आमने-सामने भएर कुरा गर्नेछौँ।

[15] तिमीलाई शान्ति होस्! यहाँ भएका मित्रहरूले आफ्नो अभिवादन पठाएका छन्। त्यहाँ भएका मित्रहरूलाई नाम लिएर अभिवादन भनिदेऊ।