Skip to content
Opens in a new window
Listen to this chapter • 3:53

[1] हरेक व्यक्ति जसले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भनी विश्‍वास गर्छ, त्यो परमेश्‍वरबाट जन्मेको हो। बुबालाई प्रेम गर्ने हरेकले बुबाबाट जन्मेको छोरालाई पनि प्रेम गर्छ।

[2] हामीले परमेश्‍वरका सन्तानलाई प्रेम गर्छौँ भन्‍ने कुरा हामी यसरी थाहा पाउँछौ—परमेश्‍वरलाई प्रेम गरेर, र उहाँका आज्ञाहरू पालन गरेर।

[3] परमेश्‍वरप्रतिको प्रेम नै उहाँका आज्ञाहरू पालन गर्नु हो; अनि उहाँका आज्ञाहरू असजिला छैनन्;

[4] किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारमाथि विजय पाउँछ। यो नै त्यो विजय हो; जसले हाम्रो विश्‍वाससमेत संसारलाई जितेको छ।

[5] संसारमाथि विजय प्राप्‍त गर्ने को हो? केवल त्यही मात्र, जसले येशू परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्दछ।

[6] उहाँ नै त्यो व्यक्ति हुनुहुन्छ, जो पानी र रगतद्वारा आउनुभयो—येशू ख्रीष्‍ट। उहाँ केवल पानीद्वारा मात्र आउनुभएन, तर पानी र रगतद्वारा आउनुभयो। अनि साक्षी दिने पवित्र आत्मा नै हुनुहुन्छ; किनकि पवित्र आत्मा सत्य हुनुहुन्छ।

[7] किनकि साक्षी दिनेहरू तीन छन्—

[8] पवित्र आत्मा, पानी र रगत; र यी तीन सहमत छन्।

[9] हामी मानिसका साक्षी ग्रहण गर्छौँ, तर परमेश्‍वरको साक्षी झन् महान् छ; किनकि यो परमेश्‍वरको साक्षी हो, जो उहाँले आफ्ना पुत्रको विषयमा दिनुभएको छ।

[10] हरेक व्यक्ति जसले परमेश्‍वरका पुत्रमाथि विश्‍वास गर्दछ, त्यसले यो साक्षी स्वीकार गर्छ। जसले परमेश्‍वरमा विश्‍वास गर्दैन, त्यसले उहाँलाई झूटो तुल्याउँछ; किनकि परमेश्‍वरले उहाँको पुत्रको विषयमा दिनुभएको साक्षीलाई त्यसले विश्‍वास गरेको हुँदैन।

[11] अनि साक्षी यही नै हो—परमेश्‍वरले हामीलाई अनन्त जीवन दिनुभएको छ, र यो जीवन उहाँको पुत्रमा छ।

[12] जससँग पुत्र हुनुहुन्छ, त्यससँग जीवन छ, जससँग परमेश्‍वरका पुत्र हुनुहुन्‍न, त्यससँग जीवन छैन।

[13] तिमीहरू परमेश्‍वरका पुत्रको नाममा विश्‍वास गर्नेहरूसँग अनन्त जीवन हुन्छ भनी जान भनेर म लेखिरहेको छु।

[14] परमेश्‍वरकहाँ जाँदा हाम्रो यही भरोसा छ, कि हामीले उहाँको इच्छाअनुसार जुनसुकै कुरा मागे पनि उहाँले हामीलाई सुन्‍नुहुन्छ।

[15] अनि हामीले जेसुकै मागे तापनि उहाँले हामीलाई सुन्‍नुहुन्छ भनी हामी जान्दछौँ भने हामीले उहाँसँग जे मागेका छौँ, त्यो हामीले पाएका छौँ भनी हामी जान्दछौँ।

[16] यदि कसैले आफ्ना दाजुभाइ-दिदीबहिनीहरूले पाप गरेको देख्छ, जुन पापले मृत्युमा पुर्‍याउँदैन, त्यस्तो अवस्थामा त्यसले प्रार्थना गरिदिनुपर्छ, र परमेश्‍वरले त्यसलाई जीवन दिनुहुनेछ। म तिनीहरूका विषयमा जनाउँदैछु, जसको पाप मृत्युमा पुर्‍याउने किसिमको हुँदैन। त्यस्तो पाप पनि छ; जसले मृत्युमा पुर्‍याउँछ। त्यस्तो पापको निम्ति त्यसले प्रार्थना गरिदेओस् भनी म भन्दिनँ।

[17] सबै अधर्म पाप हो, तर यस्तो पाप पनि हुन्छ, जसले मृत्युमा पुर्‍याउँदैन।

[18] जो परमेश्‍वरबाट जन्मेको छ, त्यसले पाप गरिरहँदैन भनी हामी जान्दछौँ; परमेश्‍वरका पुत्रले त्यसलाई सधैँ सुरक्षित राख्नुहुन्छ, र दुष्‍टले त्यसलाई हानि गर्न सक्दैन।

[19] हामी परमेश्‍वरका सन्तान हौँ, र सारा संसार दुष्‍टको नियन्त्रणमा परेको छ भन्‍ने कुरा हामी जान्दछौँ।

[20] हामी यो पनि जान्दछौँ, जो सत्य हुनुहुन्छ उहाँलाई हामीले जान्‍न सकौँ भनेर परमेश्‍वरको पुत्र आउनुभएको छ, र हामीलाई समझ दिनुभएको छ। अनि अहिले हामी उहाँमा छौँ; किनकि हामी उहाँको पुत्र येशू ख्रीष्‍टमा छौँ। उहाँ नै एक मात्र सत्य परमेश्‍वर र अनन्त जीवन हुनुहुन्छ।

[21] प्यारा नानीहरू हो, तिमीहरूको हृदयमा परमेश्‍वरको स्थान लिने कुनै पनि कुराबाट अलग रहो।

1 यूहन्‍ना — Chapters