Skip to content
Opens in a new window
Listen to this chapter • 4:34

[1] चाहे जेसुकै होस्, मेरा दाजुभाइ-दिदीबहिनीहरूहो, प्रभुमा आनन्द गर। तिमीहरूलाई फेरि पनि त्यही कुराहरू नै लेख्न मलाई झर्को लाग्दैन, अनि यो ता तिमीहरूका सुरक्षाको निम्ति हो।

[2] कुकुरहरूजस्तै व्यवहार गर्नेहरू, खराब काम गर्नेहरू, खतना गर्नैपर्छ भन्‍नेहरूदेखि होसियार बस।

[3] किनकि हामी खतना भएकाहरू हौं, जसले परमेश्‍वरका आत्माद्वारा उहाँको सेवा गर्दछौं; हामी ख्रीष्‍ट येशूमा गर्व गर्दछौं र जसले मानवीय परिश्रमहरूमा कुनै भरोसा राख्दैनौं।

[4] यद्यपि म आफूसँग पनि मानवीय उपलब्धीहरूमा भरोसा राख्ने कारणहरू छन्। यदि कसैले आफूलाई यी कुराहरूमा भरोसा राख्ने कारणहरू छन् भनी ठान्दछ भने मसँग झन् धेरै कारणहरू छन्:

[5] आठौं दिनमा खतना भएको, इस्राएल जातिको मानिस, बेन्यामीनको कुलको, हिब्रूहरूको हिब्रू; यहूदीहरूको व्यवस्थाको अभ्यासको विषयमा हो भने एक फरिसी हुँ;

[6] जोशको विषयमा हो भने मण्डलीलाई सताउने; व्यवस्थाबमोजिम धार्मिक ठहरिने कुरामा हो भने दोषरहित थिएँ।

[7] तर जे कुराहरू मेरा निम्ति मूल्यवान् थिए, अब ती कुराहरूलाई ख्रीष्‍टको निम्ति म व्यर्थको ठान्दछु।

[8] हो, मेरा प्रभु ख्रीष्‍ट येशूको असीम मूल्यको ज्ञानको तुलनामा म अरू सबै कुराहरूलाई नै व्यर्थको ठान्दछु। उहाँको निम्ति मैले अरू सबै कुराहरू त्यागेको छु, त्यसलाई कसिङ्गरतुल्य ठानेको छु, ताकि म ख्रीष्‍टलाई प्राप्‍त गर्न सकूँ।

[9] उहाँमा पाइन सकूँ, व्यवस्था पालनबाट आउने मेरो आफ्नै धार्मिकतामा होइन, तर ख्रीष्‍टमाथिको विश्‍वासद्वारा आउने त्यो धार्मिकता, जुन धार्मिकता विश्‍वासको आधारमा परमेश्‍वरबाट आउँछ।

[10] म ख्रीष्‍टलाई जान्‍न चाहन्छु, अनि उहाँको पुनर्जीवनको शक्‍तिलाई, उहाँको कष्‍ट भोगाइमा सहभागी हुन र उहाँको मृत्युमा उहाँजस्तै हुन चाहन्छु,

[11] अनि जसरी भए पनि मरेकाहरूबाट पुनर्जीवित हुन सकूँ।

[12] मैले यी सबै कुरा प्राप्‍त गरिसकेको छैनँ, अथवा म लक्ष्यमा पुगेको पनि छैनँ, तर ख्रीष्‍ट येशूले जे कुराको निम्ति मलाई पक्रनुभयो; त्यही कुरा पक्रन सकूँ भनी म अगाडि बढिरहेको छु।

[13] दाजुभाइ-दिदीबहिनीहरूहो, यी सबै कुरा मैले पक्रिसकेको छु भनी म ठान्दिनँ, तर म एउटा कुरा गर्दछु: बितेका कुरालाई बिर्सेर, अगाडिका कुरातिर अघि बढ्ने प्रयत्‍न गर्दैछु,

[14] म त्यो स्वर्गीय बोलावटको पुरस्कार प्राप्‍त गर्ने लक्ष्यतर्फ अघि बढ्दैछु, जसको निम्ति परमेश्‍वरले ख्रीष्‍ट येशूमा मलाई बोलाउनुभएको छ।

[15] यसकारण हामी सबै जतिजना परिपक्व छौं, यस्तै कुराहरूको विचार गरौं; अनि यदि कुनै कुरामा तिमीहरूले भिन्दै प्रकारले सोच्छौ भने त्यो पनि परमेश्‍वरले तिमीहरूलाई स्पष्‍ट पारिदिनुहुनेछ।

[16] हामीले जे-जति प्राप्‍त गरिसकेका छौं, हामी त्यसैमा जिऔं।

[17] दाजुभाइ-दिदीबहिनीहरूहो, मेरो अनुकरण गर्ने होओ र हामीलाई अनुसरण गर्नेहरूबाट सिक।

[18] किनकि मैले तिमीहरूलाई पहिले घरी-घरी भनेझैं, अहिले फेरि पनि आँसुको साथ भन्दछु, कि धेरै मानिसहरू ख्रीष्‍टको क्रूसको शत्रुहरूजस्तै गरी जिउँछन्।

[19] तिनीहरूका अन्त्य विनाश हो, तिनीहरूका पेट नै तिनीहरूका ईश्‍वर हो, र तिनीहरूका गर्व तिनीहरूकै शर्ममा छ। तिनीहरूका मन सांसारिक कुराहरूमा लागेको छ।

[20] तर हाम्रो नागरिकता स्वर्गमा छ, अनि हामीले स्वर्गबाट आउनुहुने मुक्‍तिदाता अर्थात् प्रभु येशू ख्रीष्‍टको उत्सुकतासाथ प्रतीक्षा गर्दछौं।

[21] उहाँले जुन शक्‍तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन उहाँलाई सामर्थ्य दिनुभयो; त्यही शक्‍तिद्वारा हाम्रा कमजोर शरीरलाई परिवर्तन गर्नुहुनेछ, ताकि तिनीहरूका शरीर उहाँको जस्तै महिमित शरीर हुनेछ।

फिलिप्पी — Chapters